राष्ट्रिय

यौनकर्मीलाई परिचयपत्र दिएर कर उठाऔं : मुख्यमन्त्री गुरुङ

- दीपक परियार, लेखनाथ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताउनु भएको हो ।

उहाँले यौनकर्मीलाई परिचय पत्र दिएर कर उठाउने व्यवस्था गनुपर्ने बताउनुभयो । उहाँले यो व्यवसायलाई रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । 

‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ,’ उहाँले भन्नुभयो, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उहाँको दाबी थियो ।

परिचयपत्रको व्यवस्था गरे थोरे थोरै कर पनि संकलन गर्न सकिने उहाँको भनाई थियो । ‘परिचयपत्र हुने हो भने यहाँको होटल व्यवसाय अझैं फस्टिने मौका पाउँछ,’ उहाँले भन्नुभयो, ‘यसो गर्दा उपयुक्त हुन्छ कि ?’ 

परिचयपत्रको व्यवस्था भए प्रहरीले होटलमा छापा मारिरहने झन्झट बेहोर्नु नपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाहुनाले होटलमा लैजाने यौनकर्मीको परिचयपत्रको आधारमा नाम दर्ता गर्ने हो भने प्रहरीले दु:ख दिइरहन पर्दैन ।’ 

विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको प्रसंग उहाँले सुनाउनुभयो । ‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्,’ उहाँले भन्नुभयो, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’

कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उहाँको आसय थियो । यौन व्यवसायलाई व्यवस्थित गर्न खुला दिलले छलफल गर्नुपर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो । होटल संघले ‘नेपालको पर्यटकीय राजधानी पोखरा तथा दक्षिण एसियाको पर्यटन प्रवेशद्वार’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो । 

प्रकाशित: भाद्र २६, २०७५