राष्ट्रिय

प्रधानमन्त्रीले उद्घाटन गरेको पाइपबाट घरघरमा ग्यास आपुर्ति बन्द

- देव नारायण साह, विराटनगर

– प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नु भएको पाइपबाट घरघरमा ग्यास प्लाण्टको आपुर्ति १३ दिनमा बन्द भएको छ । विराटनगर महानगरपालिका १४ जतुवास्थित श्रीकृष्ण गौसेवा समितिमा निर्माण गरिएको ग्यास प्लाण्ट स्टेपलाइजर बिग्रेर र भोल्टेज नपुगेर आपुर्ति बन्द गरिएको हो । विराटनगर १४ की संगितादेवी गुप्ताले भदौ १८ गते रातीबाट ग्यास आपुर्ति बन्द भएपछि समस्या भएको बताउनुभयो । उहाँले / ग्यास नियमित आइरहेको बेला पनि बीच बीचमा रोकिएर आउने गरेकाले पाइपबाट ग्यासको आपुर्ति भरपर्दो नभएको उल्लेख गर्नुभयो । 

२०४४ सालमा स्थापना भएको गौसेवा सदनमा बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको संयोजन र विश्व बैंकको सहयोगमा १ करोड ५० लाखको लागतमा निर्माण भएको बायो ग्यास प्लाण्टबाट उपभोक्तालाई साउन २० गतेदेखि नियमित ग्यास आपुर्ति भइरहेको थियो । पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास आपुर्ति हुँदै आएको थियो । ग्यास प्लाण्ट नर्माण भएको १५ दिनमा नै स्टेपलाइजर बिग्रिनुले निर्माण कम्पनीले कमसल मेसिन जडान गरेको उजागर भएको स्थानीय उपभोक्ताको आरोप छ । 

गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रबालले महानगरपालिका क्षेत्रमा विद्युत पोल सार्ने काम भइरहेकोले दिनभरिसम्म लाइन नहुनु र लाइन भएको समयमा भोल्टेज नहुनुले नियमित ग्यास आपुर्तिमा समस्या भएको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते औपचारिक रुपमा ग्यास प्लाण्टको उद्घाटन गर्नुभएको थियो । 

 

प्रकाशित: भाद्र २६, २०७५