राष्ट्रिय

हरितालिका तीज पर्व मनाइँदै, शिवालयमा व्रतालु महिलाको घुँइचो

काठमाडौं

- भाद्र शुक्ल तृतीयाका दिन, मनाइने हरितालिका तीज पर्व आज शिव पार्वतीको पूजाराधना गरी मनाइँदैछ । विशेषत आज हिन्दु धर्मावलम्वी महिलाले व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा पार्वतीले शिवजी स्वामी पाउन निराहार व्रत बसेको पौराणिक मान्यता छ ।

सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् । काठमाडौंको पशुपतिनाथ, गोकर्णको गोकर्णेश्वर महादेव, काभ्रेको धनेश्वर, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, लगायत देशका शिव मन्दिरमा लामबद्ध भई महिलाहरुले पूजा आराधना गरिरहेका छन् ।

शिवको आराधनासहित तीजका दिन महिलाहरुले विभिन्न भाकामा गीत गाउने र नाच्ने गर्दछन् । हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्ने गर्दछन् । पछिल्लो समय तीजका नाममा उच्छृफ्लता र तडकभडक आएको छ । यस्ता गतिविधिले तीजको संस्कृति विकृति उन्मुख भएको भन्दै संस्कृतिविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

कतिपय महिलाले पानी नै नखाइ ब्रत बस्ने चलन विद्यमान रहेकोले चिकित्सकहरुले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्रै व्रत बस्न सुझाएका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले देशको द्रूततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व मनाउँदा मितव्ययिता अपनाउन आवश्यक रहेको बताउनुभयो ।   

 

प्रकाशित: भाद्र २७, २०७५