खेलकुद

साफ च्याम्पियनसिप : नेपाल ० - १ माल्दिभ्स

काठमाडौं

साफ सुजुकी कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभस बीचको खेल शुरु भएको छ । पहिलो सेमिफाइनल खेल बंगलादेशको ढाकास्थितथ बंगबन्धु रंगशालामा शुरु भएको छ । खेलको पहिलो हाफमा माल्दिभसले एक गोलले अग्रता लिएको छ । यस अघि नेपाल र माल्दिभ्सबीच खेल पानीसँगै चट्याङ परेपछि केही समयलाई स्थगित गरिएको थियो । 

नेपालले फुटबलमा सेमिफाइनल खेल्न लागेको यो चौथो पटक हो । सार्क गोल्डकप सहित यो पाँचौ सेमिफाइनल हुनेछ । तर अहिलेसम्म नेपाल फाइनलमा पुग्न सकेको छैन ।

नेपाल र माल्दिभ्स फुटबलको मैदानमा पुराना प्रतिद्वन्द्वी हुन् । सन् १९८४ मा भएको पहिलो खेल यता नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १५ खेल भएको छ । जसमा नेपाल ४ खेलमा विजयी रहेको छ । यस्तै ४ खेलमा बराबरी गरेको छ भने ७ खेलमा पराजित भएको छ ।

साफ च्याम्पियनसिपको इतिहासमा भने नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिप प्रतियोगिताको ६ खेलमध्ये नेपालले २ बराबरी र ४ खेलमा हार व्यहोरेको छ ।

प्रकाशित: भाद्र २७, २०७५