आर्थिक

चित्तबुझ्दो छैन कृषि उत्पादन, विषादीको अत्यधिक प्रयोग

- काशीराम डाँगी, रोल्पा

रोल्पा नगरपालिका २ स्थित मुलपानी गाउँमा दुई दर्जन कृषकले तरकारी खेती गर्छन् । उनीहरुले आफ्नै उत्पादनलाई बजारमा पुर्‍याउन कृषि उपज संकलन केन्द्र समेत स्थापना गरेका छन् । कृषकहरुद्वारा उत्पादित सामग्रीहरु उक्त केन्द्र मार्फत बजार पुर्‍याइन्छ । सदरमुकाम लिबाङभित्रको गाउँको कृषि उत्पादनले सधैंजसो मूल्य पाउन मुस्किल छ । त्यसैले कृषकले घाटा व्यहोरेर समेत आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउँछन् ।

उही सामानको मूल्य कहिले नाफायुक्त हुन्छ भने कहिले चित्त बुझ्दो समेत हुँदैन । ‘धेरै समयमा कृषि उत्पादन सामग्रीले बजार पाउदैन । निकै घटाएर सामान बेच्नु पर्ने बाध्यता छ ।’ मूलपानी तरकारी तथा कृषि उपज संकलन केन्द्रका संयोजक रुपलाल वलीले भन्नुभयो, ‘मूल्य नपाउँदा कृषक र संकलकलाई घाटा लाग्छ ।’

अधिकांश कृषकले जग्गा भाडामा लिएर खेती गरेकाले कहिलेकाहीं भाडा जुटाउनै मुस्किल हुने उनीहरुको भोगाई छ । कृषकले तरकारीसहित नगदे बाली लगाएको स्थान बजारदेखि करीब ३ किलोमिटरको दूरीभित्रै पर्छ । तर त्यहाँ उत्पादित कृषक उपज भन्दा दाङ, बुटवल, नेपालगञ्ज तथा भारतीय बजारबाट आयात गरिएका कृषि उपजले बजार ढाकेको छ ।

‘यता नपाउने कृषि उत्पादन तराईबाट मगाउने गरेका छौं ।’ सदरमुकामस्थित पत्रकार तथा तरकारी व्यापारका फुटकर बिक्रेता दयाराम डाँगी भन्छन्, ‘रोल्पामै पाइने तरकारी लगायतका उपजको मूल्य निकै आकासिएको छ । बरु तलबाटै ल्याउनु फाइदा हुन्छ ।’ 

कृषकको उत्पादनलाई उचित मूल्य उपलब्ध गराउन तथा बजारसम्म पुर्‍याउन रोल्पा नगरपालिका र कृषि विकास कार्यालयका समेत प्रतिनिधि रहने प्रावधान सहित ९ सदस्यीय तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । स्थानीय गैरसरकारी संस्था डिकोस मार्फत अमेरिकी अन्तर्राष्ट्रिय विकास परियोजनाको सहयोगमा उक्त केन्द्र स्थापना गरिएको हो ।

मूलपानी कृषि समूहद्वारा संचालित उक्त केन्द्र अन्तर्गतका कृषकलाई वैदेशिक सहायतामा साना सिंचाई परियोजनाको आर्थिक सहयोग प्राप्त भएको हो । उक्त गाउँमा वैदेशिक सहायतामा २०७१ देखि संचालित कृषि तथा खाद्य सुरक्षा कार्यक्रम मार्फत ताजा तरकारी उत्पादन गर्ने उद्देश्यले करीब २० लाख लगानी गरिएको थियो । गुणस्तरीय तरकारी तथा बीउ उत्पादन गर्ने दक्षसाथ उक्त परियोजनाबाट सुरुमा २४ परिवार लाभान्वित भएका थिए ।

कृषि खेतीप्रति आकर्षित बनाउन तथा कृषकलाई सहयोग प्रदान गर्ने क्रममा सरकारी एवं गैर सरकारी क्षेत्रबाट लाखौको सहयोग प्राप्त भएपनि चित्तबुझ्दो कृषि उत्पादन हुन सकेको छैन । पर्याप्त आर्थिक सहायता पाएपनि हाल २५ परिवारले मात्रै खेती गरिरहेका छन् ।

तैपनि स्थानीय एक परिवार मात्रै छ । बाँकी सबैले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । १३ जनाले अरुकै जग्गा लिजमा लिएका छन् । सिंचाइका लागि पानीको समस्या भएकाले कृषकहरुले मन पराएर खेती गर्न सकेका छैनन् । उनीहरुले गाई र बाख्रा पालन समेत गरेका छन् ।

तर आम्दानी लगानी अनुसारको हुन सकेको छैन । कृषकलाई स्थानीय तह र सरकारका अन्य निकायबाट पर्याप्त तालिम तथा अन्य व्यावसायिक सहयोगको खाँचो रहेको कृषकहरुको माग छ ।  

विषादीको अत्यधिक प्रयोग
कृषकहरुका अनुसार सुरुमा अर्गानिक खेती प्रणालीको थालेपनि रोगको वृद्धिपछि विषादीको प्रयोग गर्ने गरिएको छ । तरकारी संकलन केन्द्रका संयोजक वलीले विषादी प्रयोग नगरेको तरकारी र फलफूल पाउन मुस्किल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषकले प्रयोग गरेको तरकारी पहिले हामी खान्छौं, त्यसपछि बजारका उपभोक्ताका माझ लैजान्छौं ।’

कृषकहरुका अनुसार भिटामिन लगायतका औषधि दुई पटक प्रयोग गर्नुपर्छ । विषादी प्रयोग गरेको तरकारी कृषक आफैले खानु पर्दा उनीहरु समेत चिन्तित छन् । कृषि सेवा केन्द्रबाट सहयोग लिंदा पनि रोग नियन्त्रण गर्न मुस्किल छ ।’ उक्त कृषक समूहका जगबहादुर वलीले भने, ‘सकभर विषादी प्रयोग कम गर्ने लक्ष्य छ । तर रोगले नोक्सान पुर्‍याउन थालेपछि विषादीको प्रयोग नगरी हुँदैन ।’

अर्का कृषक कर्णबहादुर खड्काले सुरुमा कृषकले विषादीको प्रयोग नगर्ने सोचाई राखेपनि सम्भव नभएको बताए । बजारमै डेरी उद्योग समेत संचालन गर्दै आएका उनले गाउँमा कृषि खेती समेत गर्दै आएका छन् । तरकारी र फलफूल खेती गर्दै आएका कृषकलाई सरकारले थप सहयोग गर्नुपर्ने उनको माग छ ।

जिल्लास्थित कृषि कार्यालयका अधिकृत रविन्द्र पौडेलले साविकको कृषि विकास कार्यालय खारेजी गरिएपछि कृषकलाई कुनै पनि सेवा प्रवाह गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काम छैन । तलब थाप्ने र बस्ने मात्रै छ । सरकारले यो के गर्न खोजेको हो भन्ने अन्योलै छ ।’ 

सदरमुकाम लिबाङमा दैनिक कम्तीमा २ क्विन्टल तरकारी खपत हुँदै आएको छ । प्रत्येक महिनामा टमाटर मात्रै २७ क्विन्टल बढी आयात गरिन्छ । तरकारी ओसारपसार समेत गर्दै आएका कृषक जगबहादुर वलीले रोल्पामा उत्पादित तरकारी जिल्लाबाहिर समेत निर्यात गर्दै आएको बताए । 

प्रकाशित: भाद्र २७, २०७५