राष्ट्रिय

राहत शिक्षकले सामुदायिक विद्यालय बन्द गराए

- आनन्द गौतम, ताप्लेजुङ

चार बुँदे माग राख्दै शैक्षिक हड्तालमा उत्रिएका राहत शिक्षकहरुले ताप्लेजुङका सामुदायिक विद्यालयमा पठन पाठन अवरुद्ध गराएका छन् । भदौ २६ देखि २८ गतेसम्म तीनदिने हड्तालको आह्वान गरेको नेपाल राहत शिक्षक समितिले मंगलबार देखिनै पठनपाठन ठप्प पारेका हुन् ।

राहत शिक्षक केन्द्रीय समितिद्वारा जारी विज्ञप्तिमा राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुष्ट स्थायी गर्न संघीय ऐनले नीतिगत व्यवस्था गर्नुपर्ने, स्थायी प्रकृयाको थालनी गर्नुपूर्व राहत शिक्षक सम्बन्धी हालको शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरुको स्वामित्त निर्माणाधिन ऐनले ग्रहण गर्न माग गरिएको छ ।

स्थायी प्रकृया सुरु गर्नुपूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परिक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकको उमेरको हदबन्दी हटाउनुपर्ने र राज्यबाट शिक्षक, शिक्षकबीच गरिंदै आएको विभेदको अन्त्य गर्ने नीतिगत ब्यवस्था सुनिश्चितता गर्नुपर्ने माग उनीहरुको छ ।

अहिले देसभरी ४० हजार राहत शिक्षक रहेको समितिल उल्लेख गरेको छ । पेशागत मर्यादा र समानतालाई जोगाउन आन्दोलित हुनुपरेको समितिको विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित: भाद्र २७, २०७५