मुस्ताङ डायरी

- विनोद त्रिपाठी, मुस्ताङ

    चैत्र १०, २०७३ 

    चुनावका लागि मुस्ताङ तात्यो

    सरकारले स्थानीय तहको निर्बाचन मिति तोकेपछि मुस्ताŁङमा चुनावको चहलपहल बढेको छ । हिमालपारिको यो जिल्लामा अहिले चुनाव जसरी पनि तोकिएकै मितिमा हुनुपर्ने भन्दै सबै राजनीतिक दलहरु र निर्वाचन कार्यालयले तयारी थालेका छन् । काठमाण्डौ, पोखरा लगायतका स्थानमा बसेका नेताहरु आआफ्ना पार्टीलाई जिताउन जिल्ला फर्कन थालेका छन् । फागुन लागेपछि मौसम अनुकुल हुंदै गएकोले चुनावमा प्रचारका लागि जिल्ला आउन स्थानीयलाई सजिलो भएको छ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न लगाएपछि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गरेर आयोगको केन्द्रीय कार्यालय समक्ष पठाइसकेको छ । सरकारले भने बमोजिम निर्वाचनको तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी सिताराम शर्मा लामिछानेले बताउनुभयो । 

     

    मुस्ताङका प्राकृतिक स्रोत खेर 

    जोमसोमबाट कोरला जाने सडक वरपर ठुला बालुवाका पहाडहरु उपयोग हुन नसक्दा खेर गइरहेको छ । हावाले उडाउने र हिंउले पगाल्ने भएकोले पहाडमा खोल्सा परेका छन् । यहांका ठुला पहाडबाट निस्केको बालुवा र गिटी कालीगण्डकी नदिमा मिसिएर दक्षिण तर्फका बस्तीलाई उच्च बनाएको छ । हावा र हिंउकै कारण यहांका पहाडका रुप बदलिरहेका छन् । निकै कमलो भुभाग भएकोले सडक निर्माण कम खर्चिलो छ । मुस्ताङमैं क्रसर र सिमेन्ट उद्योगको हव बनाउने हो भने ठुलो मात्रामा यसका उत्पादन निकासी गर्न सकिने सम्भावना रहेको सरोकारवाला बताउछन् ,। जिल्लामा सिमेन्टजन्य उत्पादन निकासीका लागि सडक निर्माण पहिलो आवस्यकता देखिएपनि उपयोग गर्नुपर्ने पहाडको बालुवा गिटी खेर गइरहेको मुस्ताङका सांसद तथा संसदीय उद्योग समितिका सदस्य महेन्द्र शेरचनले बताउनुभयो । 

     

    मुस्ताङबासी भन्छन्—

    राजनीति सहमतिका लागि गैरदलीय चुनावको प्रसंग उठिरहेका बेला मुस्ताङीले भने दल रहित निर्वाचन गर्न नहुने बताएका छन् । गैरदलीय चुनावले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न नसक्ने भएकोले जनतामा फाटो ल्याउने काम गर्न नहुने मुस्ताङीको धारणा छ । यहांका बुद्धिजिवी, राजनीतिकर्मी र सर्वसाधारण नागरिकले कुनै पनि हालतमा गैरदलीय चुनाव गर्न नहुने, थ्रेसहोल्ड राख्नैपर्ने र तोकिएको मितिमा सबै दल सहभागी स्थानीय तहको चुनाव हुनुपर्ने माग गरेका छन् । सरकारले तोकिएकै मितिमा चुनाव गर्नुपर्ने र क्षेत्रीय जातीगत मुद्धालाई उचालेर निर्बाचन बिथोल्ने काम कसैबाट गर्न नहुने मुस्ताङीको आवाज छ । जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गण्ोश थकालीले गैरदलीय चुनावको कुरा उठाएर लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने खेल हुन थालेको बताउनुभयो । 

     

    दुताबासको निर्देशनले जोमसोम पुल बन्यो

    भारतीय राजदुतावासको सहयोगमा निर्मित जोमसोम पुल निर्माण कार्य सम्पन्न भएको छ । ५ वर्षदेखि अलपत्र परेको सो पुल निर्माण छिटो सम्पन्न गर्न स्थानीयले जिविस र दुतावासमा पटक पटक दवाब दिएका थिए ।  ठेकेदार कम्पनीले दुतावासबाट रकम निकासा नभएको कारण देखाएर पुल निर्माणमा विलम्व गर्दे आएको थियो । ०६८ सालमा सम्झौता भएको पुल २ बर्ष भित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । दुतावाससंग भएको सम्झौता अनुसार ०७० बैशाखमा काम सम्पन्न हुनुपर्नेमा ३ वर्ष लम्बिएका कारण निर्माण कार्य अलपत्र परेको हो । दुतावासले कडा निर्देशन जारी गरेपछि जिविसको दवाबमा ठेकेदार कम्पनीले पुल निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको हो ।

    प्रकाशित:चैत्र १०, २०७३

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्