नुवाकोट डायरी

- कृष्ण थापा, नुवाकोट

    श्रावण २२, २०७४  

    स्थानीय तहको चुनाव भएको साढे दुई महिना विति सक्दा पनि खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन् । जनप्रतिनिधिहरु कर्मचारी खोज्दै सदरमुकाम धाउन थालेका छन् । आर्थिक वर्ष ०७४/७५ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत विकास निर्माणका लागि आवश्यक पर्ने बजेट विनियोजन सकेको छ । शिवपुरी गाउँपालिका कार्यालयमा कर्मचारी नआएपछि कर्मचारी खोज्दै सदरमुकामका कार्यालयहरु चहारिरहेको गाउँपालिका प्रमुख रामकृष्ण थापा बताउनुभयो । कर्मचारी कार्यक्षेत्रमा नपुगेपछि गाउँपालिका प्रमुखहरु कर्मचारीलाई कडाईका साथ पठाइदिन स्थानीय प्रशासन र जिल्ला समन्वय समितिलाई गुहारिरहेका छन् । 

    अशुद्ध खानेपानीको उपभोग गरेवापत २ सय ५० देखि ३ सय रुपैया शुल्क तिर्नुपरेको भन्दै सदरमुकामका स्थानीय आक्रोशित भएका छन् । विदुर खानेपानी उपभोक्ता समितिले वर्षौ देखि स्वच्छ पानी वितरण नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । सदरमुकाम विदुरमा २ हजार ३ सय भन्दा बढी उपभोक्ताले लेदोपानी उपभोग गरेवापत २ सय ५० रुपैयाँ तिर्दै आएका छन् । विदुरखानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले फिल्टर राख्न नपाएका कारण शुद्ध पानी वितरणमा समस्या आएको बताउनुभयो । 

    जिल्ला सरकारी वकिल कार्यालयले तीन दर्जनभन्दा बढी मुद्दा फस्र्योट गरेको छ । आर्थिक वर्ष ०७३/७४ मा ९३ थान मुद्दा थिए । ती मध्ये ४२ वटा मद्दा फस्र्योट गरेको जिल्ला न्यायाधिवक्ता विमल थापाले बताउनुभयो । वन, सार्वजनिक अपराध लगाएका मद्दा रहेको सरकारी वकिल कार्यालयले जनाएको छ । छिटो छरितो तरिकाले स्थानीयलाई सेवा प्रवाह गर्न कार्यालय लागेपनि जनशक्ति अपुगका कारण समयमा मुद्दा किनारा लगाउन कठिनाई भएको न्यायाधिवक्ता थापाले बताउनुभयो । 

    नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले छानविन समिति गठन गरेको छ ।  स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीले पराजयको भोग्नुको कारणबारे छानविन गर्न उजुरी छानविन तथा अनुशासन समिति गठन गरेको छ । पार्टी सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको पार्टी सभापति एवं सांसद जगदिश्वरनरसिंह केसीले बताउनुभयो । हिजो बसेको बैठकले पार्टीले हार व्यहोर्नु परेको कारण र विजयी उम्मेदवारलाई स्वागत गरेको थियो ।  

    नेपाली सेनाले हरियाली अभियान अन्तर्गत उजाड भएका पाखामा बृक्षारोपण गरेको छ । बाराही सामुदायिक वन उपभोक्ता समिति र श्रीनाथ गणको संयुक्त आयोजनामा विदुर नगरपालिका २ स्थित लामिडाडा ईलाकामा बृक्षारोपण गरिएको हो । सो वनमा सिसौ, सल्ला, बकाइनो, चाप, खयर गरी दुई हजार एकसय बोट सारिएको सेनाले जनाएको छ । 

    प्रकाशित:श्रावण २२, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्