पेट्रोलियम व्यवसायीद्वारा आन्दोलनको घोषणा

काठमाडौं
  • आगामी ३१ गतेबाट मुलुकभरका पेट्रोल पम्प बन्द गर्नेे

श्रावण २५, २०७४

पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने परिमाण क्षतीका कारण आर्थिक भार खेप्नुपरेपनि सरकारले समस्या समाधानमा पहल नगरेको भन्दै बिरोधमा उत्रिएका पेट्रोलियम व्यवसायीले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले राजधानीमा आज पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको परिमाणमा देखिएको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै भोलीदेखि मुलुकभरका सबै इन्धन डिपो तथा विक्रि केन्द्रबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने/नगराउने जनाएको छ ।

एशोसियसनले साउन २९ गते भित्र पनि माग पुरा नभए ३० गतेसम्म सबै मौज्दात इन्धन विक्रि गरी ३१ गतेबाट देशैभरका पेट्रोल पम्प बन्द गर्ने उल्लेख गरेको छ । पेट्रोलियम पदार्थको ढुवानी गर्दा क्यालिव्रेशन मापन तथा तापक्रमले परिमाणमा फरक पर्न गएकाले व्यवसायीलाई ठुलो आर्थिक भार परेको एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले दाबी गर्नुभयो ।

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई उपलब्ध गराउने पेट्रोल डिपो हुँदै पम्पमा आइपुग्दा चार हजार लिटरमा पेट्रोलमा ९९ लिटर र सोही परिमाणको डिजेलमा ६० लिटर कम हुने गरेको उहाँको भनाई छ ।

एशोशिएसनले /आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै इन्धन प्राप्त हुनुपर्ने अन्यथा त्यसको समायोजन निगमले गर्नुपर्ने, विक्रेतालाई उपलब्ध गराउने पेट्रोलियम पदार्थको परिमाण र  गुणस्तर नापतौल विभागले समेत प्रमाणित गरेको हुनुपर्ने लगायत माग अघि सारेको छ ।

 

प्रकाशित:श्रावण २५, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्