पाल्पा डायरी

- माधव अर्याल, पाल्पा

    श्रावण २६, २०७४  

    पाल्पा जिल्लाका सडक योजनाहरु समयमै निर्माण कार्य नसक्ने ८ ठेकेदार कम्पनी कारबाहीमा परेका छन् । सडक डिभिजन कार्यालयले पाँच निर्माण कम्पनीलाई १० प्रतिशत हर्जाना लगाएको छ । जिल्ला प्राविधिक कार्यालयले तोकिएको अवधिमा काम पूरा नगर्ने तीन ठेकेदार कम्पनीलाई दिनगन्तीका आधारमा जरिवाना गराएको हो । सडक कार्यालयले अरनिको बाम्ती भण्डारा दाप्चा ज्वाइन्ट भेन्चर, डि एण्ड डी, विष्णु निर्माण सेवा र सुरेन्द्र निर्माण सेवालाई कारबाही गरेको हो । सडक डिभिजनका सूचना अधिकारी पवित्रमणी आचार्यले काम गरेपनि समयमा नसकेकाले १० प्रतिशत जरिवाना तिराएर मात्रै भुक्तानी दिएको बताउनुभयो । जिल्ला प्राविधिक कार्यालयले महालक्ष्मी थोडुङ् वाइवा एण्ड लामा, आषिश सूर्यचन्द्र र एमएस वाइपी जयरक्तकाली ज्वाइन्ट भेन्चरलाई कारवाही गरी जरिवाना लगाएको छ ।

    लुम्बिनी मेडिकल कलेज पाल्पामा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि सुत्केरीले चर्को शुल्क तिर्न बाध्य छन् । यहाँ विगत पाँच वर्षदेखि यो कार्यक्रम सञ्चालन हुँदै आएको थियो । साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम कलेजले बन्द गर्दा सुत्केरीले चर्को शुल्क तिर्न बाध्य छन् । असार मसान्तदेखि सरकारसंग सम्झौता सकिएको हो । अहिले यहाँ सुत्केरी हुन जानेले चर्को शुल्क तिर्नु परेको छ । अस्पतालले सामान्य सुत्केरी गराउन आउनेसंग कम्तीमा ८ हजार लिने गरेको छ । माथागढी, ५ का बेलबहादुर ढेंगाले सेवाग्राहीले चर्को शुल्क तिर्नुपर्दा समस्या भएको बताए । अस्पतालमा झडेवा, गोठादी, रुप्से, कसेनी, मदनपोखरा, तेल्घा, मस्याम लगायतका स्थानबाट सुत्केरी गराउन आउँछन् ।

    उपभोक्ताले सस्तो मूल्यमा सामान खरिद गर्न पाउने पाल्पाका सहकारी सस्तो पसल प्राय: बन्द भएका छन् । कतिपयले अनुदान पाएको अर्को वर्षदेखि नै सञ्चालन गरेनन् । केहीले बिस्तारै बन्द गर्दै गएका हुन् । डिभिजन सहकारी कार्यालयबाट अनुगमन नियमन नहुँदा त्यस्ता पसल हराएको उपभोक्ताको आरोप छ । सहकारीले कर्मचारी कमीका कारण यसको अनुगमन हुन नसकेको जनाउँदै आएको छ । डिभिजन सहकारी प्रमुख कृष्णबहादुर बोहोराले कर्मचारीको कमीले गर्दा सबै सहकारीमा अनुगमन गर्न नसकिएको बताउनुभयो । सस्तो पसल सञ्चालनका लागि जिल्लाका ६५ गाविस र एक नगरपालिकामा १ लाखको दरले रकम पाएका थिए । 

    सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा सडक निर्माणकार्य शुरु भएको ५ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले राजमार्ग मर्मत नगर्दा सवारीधनी, चालक र सर्वसाधारणले सास्ती खेप्नु परेको छ । सडक स्तरोन्नती र मर्मतका लागि १८ महिनामा काम सक्ने गरी पाँच वर्षअघि ठेक्का लागेपनि निर्माण व्यवसायीले सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा अझै काम सकेको छैन । ठेकेदारले समयमा काम नसक्दा यसवर्ष सडक डिभिजनले मिस्कट लगेर खाल्डाखुल्डी पुरेको सूचना अधिकारी पवित्रमणी आचार्यले बताउनुभयो । सिद्धबाबा क्षेत्रमा माथिल्लो भागमा रहेको चट्टानी पहाडबाट खस्ने ढुङ्गाका कारण दुर्घटना हुने गरेको छ । 

    प्रकाशित:श्रावण २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्