बाढी पहिरोमा परी ३० जनाको मृत्यु : गृह मन्त्रालय

काठमाडौं
  • साउनमा मात्र ५५ को मृत्यु

श्रावण २८, २०७४

अधिक बर्षापछि उत्पन्न बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा ३० जनाको मृत्यु भएको छ । योसँगै साउन महिनामा मात्र बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ । 

गृह मन्त्रालयका अनुसार सुनसरीमा ७, झापा र सिन्धुलीमा ४–४, मोरङ, बाँके र पाँचथरमा ३–३ तथा बारा, सर्लाही, दाङ, पाल्पा, बर्दिया र मकवानपुरमा एक–एक गरी ३० जनाको मृत्यु भएको छ । त्यस्तै कयौं वेपत्ता छन् । 

गृहमन्त्री जर्नादन शर्माले बाढी पहिरोको प्रकोपमा परेकाहरुको उद्दार कार्य तीव्र पार्न निर्देशन दिनुभएको छ । आज बिहान गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्रीले जनधनको क्षतिबारे जानकारी गराउनुभएको हो । गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जानका लागि विमानस्थलमा खाद्य तथा उद्दार सामाग्रीहरु तयारी अवस्थामा राखिएको भएपनि प्रतिकुल मौसमका कारण ती सामाग्री पुर्‍याउन नसकिएको बताउनुभयो ।गृहमन्त्रीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्दारमा खटिन पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न तथा राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

सैनिक निर्देशनालयले समेत आज एक विज्ञप्ति निकाली प्रभावित क्षेत्रहरुमा उद्धारका लागि सेनाको टोली खटाएको जनाएको छ ।  

गृह प्रवक्ता दीपक काफ्लेका अनुसार अधिक बर्षा भएका जिल्लाका प्रशासन कार्यालयहरुलाई हाई अलर्टमा राखिएको छ । गृह मन्त्रालयले मानवीय उद्दारको लागि झापा, मोरङ र सुनसरी जिल्ला पठाउनका लागि आज दिनभर नेपाली सेनाका दुई हेलिकप्टर तयारी अवस्थामा राखेको थियो । तर, प्रतिकुल मौसमका कारण दुवै हेलिकप्टर उड्न सकेका छैनन् । 

त्यस्तै गृहले ईटहरी र सुर्खेत स्थित पृतना कार्यालयमा रहेका एक–एक हेलिकप्टरलाई मानवीय उद्दारका निम्ती परिचालन गरिरहेको छ । गृहमन्त्री शर्माले समेत निजी क्षेत्रका हेलिकप्टरहरुलाई उद्दारका निम्ती परिचालन गर्नका निम्ती पर्यटन मन्त्रीमार्फत पहल चालेका छन् । गृहका अनुसार आपतकालीन अवस्थामा निजी कम्पनीका हेलिकप्टर पनि परिचालन गर्नुपर्ने देखिएकाले तयारी थालिएको हो । 

साउन महिनाको २७ गते अर्थात हिजोसम्मको अवधीमा मात्रै बाढी र पहिरोमा परी २५ जनाको मत्यु भएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार हिजोसम्म पहिरोमा परी १४, बाढीका कारण १० र अत्याधिक बर्ष पछि उत्पन्न परिस्थितिका कारण एक जनाको मृत्यु भएको जनाएको हो । अधिक बर्षापछि उत्पन्न प्राकृतिक प्रकोपमा परी आज मात्र थप ३० जनाको मृत्यु भएपछि यो संख्या ५५ पुगेको छ ।

(जिल्ला सहकर्मीहरुबाट प्राप्त समाचार)

सिन्धुलीमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ स्थित पत्रकार महासंघ जिल्ला समितिको जग्गामा टहरोमा बस्दै आएका स्थानीय दुर्गा कुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनिष खड्काको पहिरोमा परी विहान मृत्यु भएको हो । 

बाँकेको राप्तिसोनारी गाउँपालिकामा बाढीले घर भत्काउँदा पुरिएर एकै घरका ३ दिदिबहिनी सहित ४ जनाको मृत्यु भएको छ । घर पुरिंदा १२ बर्षीय अन्जु थारु, ९ बर्षीय सरिता थारु, ५ बर्षीय सुस्मिता थारु र नाम नखुलेका अन्य एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापाको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिकामा पहिरोले घर पुर्दा स्थानीय गोपीमाया तामाङको मृत्यु भएको छ । 

सुनसरीको गैरागाउँस्थित बुढीखोलाले बगाएर चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बगेर मृत अवस्थामा भेटिएका उनीहरुको पहिचान खुल्न सकेको छैन । 

झापामा कनकाई नदीमा आएको बाढीले बगाउँदा झापा गाउँपालिका २ की कमला घोर्साने र झिलझिले खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका १ का २८ बर्षीय लेखनाथ पाण्डेको मृत्यु भएको छ । कमलाकी आमा धनमाया घोर्साने बेपत्ता छन् । कनकाई नदीको बाढीले बगाउँदा झापा गाउँपालिका २ कै कालिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवार बेपत्ता छ । दमकस्थित दीपिनी खोलाले बगाउँदा भारत बिहार घर भई हाल दमकमा ज्याला मजदुरी गर्ने २५ बर्षीय कपोस मण्डल बेपत्ता छन् । 

बाराको सिम्रौनगढमा निरन्तरको बर्षाले घर भत्काउँदा कचोर्वाकी ४५ बर्षीया गहनी देवी पासवानको मृत्यु भएको छ । बाराकै आदर्श कोतवाल गाउँपालिका ९ स्थित एक बृद्धाश्रम भत्किदा स्थानिय ७० बर्षीय ब्रहमदेव महतोको चेपिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर भत्किएर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ सिमलखुट्टीकी ४५ बर्षिया भगवती सुनारको मृत्यु भएको हो । बेतनी खोलाले बगाउदा तुलसीपुरकै ५८ बर्षिय नरबहादुर राउतको मृत्यु भएको छ ।  

मकवानपुरको भीमफेदी गाउँपालिकामा पहिरोले पुरिएर ५० वर्षीय मिठु दानीको मृत्यु भएको छ । पहिरोमा परि १८ वर्षीय सरु खड्का घाईते भएकी छन् । 

पाल्पाको दोभान २ सिद्धबाबा सडकखण्डमा पहिरोले लु १३ प १३६५ नम्बरको मोटरसाइल पुरिँदा चालक तानसेन ३ का ३५ वर्षिय गृहपति शाक्यको उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार अर्का एकजना घाइते भएका छन् । 

 

 

प्रकाशित:श्रावण २८, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्