रुपन्देही डायरी

- अमृता अनमोल, काठमाडौं

    श्रावण २८, २०७४ 

    रुपन्देहीका स्थानीय तहले लुम्बिनीलाई केन्द्र भागमा राखेर विकास योजना बनाएका छन् । लुम्बिनीको महत्व र आकर्षण बढ्दै जाँदा सबैजसो स्थानीय तहका जनप्रतिनिधिले यसो गरेका हुन् । लुम्बिनी प्रवेशद्धारका रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले आफ्नो नगरलाई बौद्ध नगरका रुपमा विकास गर्न कसिएको छ । देवदहले लुम्बिनी देवदह पर्यटन योजना बनाएको छ । तिलोत्तमाले लुम्बिनी तिलोत्तमा र देवदहको सेन्टर बनाएर पुर्वाधार विकास थालेको छ । लुम्बिनीलाई टुरिजम हवका रुपमा विकास गर्न १० वर्षे कार्यक्रम सहितको व्यवस्थित पर्यटन योजना बनेको छ । भैरहवामा अन्तराष्ट्रिय विमानस्थल र बुटवलमा अन्तराष्ट्रिय सभागृह निर्माण हुँदै छ । यसले लामो समयपछि आएका जनप्रतिनिधिलाई लुम्बिनी केन्द्रित विकास गर्न हौसाएको हो । 

    बुटवलमा ‘लैङ्गिक हिंसा मुक्त बुटवल शहर’ बनाउने अभियान सुरु भएको छ । घरदेखि कार्यालय, निजीदेखि सार्वजनिक स्थललाई महिलामैत्री बनाउँदै लैंगिक हिंसा घटाउन अभियान सुरु भएको हो । अभियानको सुरुवातमा वुटवल उप—महानगरपालिकाका उपप्रमुख गुमा देवी आचार्यको संयोजकत्वमा नौ सदस्यीय ‘लैङ्गिक हिंसा मुक्त कार्यदल’ गठन भएको छ । लिंगकै कारण हुने सबैखालका हिंसालाई शुन्यमा झार्न काम थालेको बुटवल उप महानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । भुक्तभोगीहरुका भनाइमा तीव्र बसाइसराई र विपन्न मजदुरको वसोवास समेत रहेको बुटवलमा लैंगिक हिंसाका घटना धेरै हुने गरेका छन् । यहाँका धेरै सार्वजनीक सेवा, पुर्वाधार  तथा कार्यालयलाई अझैसम्म लैंगिकमैत्री बनाइएको छैन । 

    रुपन्देही र नवलपरासीमा रहेका राजमार्ग र मुख्य मार्गका अधिकांश पुल जोखीममा परेका छन् । मापदण्ड भन्दा बढी भारवहनका यातायातका साधन चलाउँदा राजमार्ग क्षेत्रका अधिकांश पुलहरु जीर्ण बनेका हुन् । पुलमुनिबाट अवैध र अनियन्त्रित रुपमा नदीजन्य पदार्थ निकाल्दा पनि सडकका पुलको जगै देखिने र थर्कीने गरेका छन् । डिभिजन सडक कार्यालय बुटवल मातहतमा रुपन्देही र नवलपरासीमा ६८ वटा पुल छन् । ४ किलोमिटर सडकक्षेत्र ओगटेका ती पुल तत्कालिन समयमा २ अरब ८० करोड लगानीमा निर्माण भएका हुन् । यस मध्येका आधाजसो पुलहरु खतराको सुचिमा परेका छन् । त्यसमध्येका राजमार्गमा रहेका २४ र अन्य सडकका ८ पुल जोखिममा छन् ।

    बिषादीको अत्याधिक र अनियन्त्रित प्रयोग बढेपछि बिषादीको उपयुक्त प्रयोगबारे सिकाउन रुपन्देहीमा कार्यक्रम थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले विषादीको प्रयोगका विधि: विषादीको सकरात्मक तथा नकरात्मक असर सम्बन्धी किसानलाई तालिम दिन थालेको हो ।  व्यवसायिक कृषि बढी हुने सेमरा मर्चवार– असुरनिया वसन्तपुर, लुम्बिनी लगायतका किसानले तालिम पाएका छन् । रुपन्देहीका तरकारी उत्पादनमा पकेट क्षेत्रकै किसानलाई समेत विषादीको प्रयोग र प्रयोग पछिको उपयोगका बारेमा जानाकारी छैन । अज्ञानता र धेरै उत्पादन हुने लोभले किसानले अनियन्त्रीत रुपमा विषादीको  प्रयोग गरेका छन् ।

    रुपन्देहीबाट यस वर्ष मुस्लिम समुदायका १सय ३५ जना हज गर्नका लागि साउदी अरेबियाको मक्का मदिना गएका छन् । हज गर्नका लागि मक्का मदिना जान जिल्लाबाट ३ सय १५ जनाले केन्द्रीय हज समितिमा आवेदन गरेका थिए । कोटा अभावका कारण यो वर्ष १ सय ३५ जनाले मात्र हज गर्न मक्का मदिना जान पाएका हुन् । त्यसमध्ये गत वर्ष निवेदन दिएका ८२ जना र यस वर्षका ५३ जना छन् ।

     

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्