नवलपरासी डायरी

नवलपरासी

    कार्तिक ३, २०७४ 

    सयपत्री फुलको अभाव

    यस वर्ष समयमा नै मखमली र सयपत्री फुल नफुलेपछि नवलपरासीमा प्राकृतिक फुलको अभाव भएको छ । समयमा फुल नफुलेपछि बजारमा कृत्रिम फुल र मालाको माग ह्वात्तै बढेको छ । तिहारमा प्राकृतिक फुलको माला उनेर लगाउने परम्परा भएपनि जिल्लामा व्यवसायीक रुपमा लगाईएको मखमली, सयपत्री फुल समयमा नै नफुल्दा फुल अभाव भएको हो । कावासोती नगरपालिका १ मा पोखरीताल जलासय निर्माण संरक्षण तथा उपभोक्ता समितिका पुष्प व्यवसाय गरेपनि यस वर्ष रोग लागेर तिहारमा सयपत्री फुल्न सकेन् । खाली रहेको ठाउँलाई सदुपयोग गर्दै फुल खेती लगाईएको छ । अहिले करीब १० कट्टा क्षेत्रफलमा दशंै तिहारमा प्रयोग गरिने मखमली, सयपत्री, स्वस्थानी फुल रोपिएको भएपनि ६० प्रतिसत फुल नफुलेको समितिका अध्यक्ष शिव प्रसाद भट्टराईले बताउनुभयो ।  

    दशगजा बन्यो डम्पिङ्ग साईट 

    नवलपरासी–नेपाल भारत सिमानाका नवलपरासीको महेशपुर नाकाको दशगजा वारिपारी दुवै देशले स्वागत गरेको ठुलो गेट छ । किनमेल तथा कामका लागि दिनहुं हजारौ मानिस ओहोरदोहोर गर्ने गर्दछन् । तर, दुवै देशको स्वागतद्धार अगाडी पुग्ने बित्तिकै फोहोरको गन्धले सबैलाई नाकथुन्नुपर्ने अवस्था छ । सिमानाकामा रहेको दशगजा क्षेत्र फोहोर फाल्ने डम्पिङ्ग साईटको रुपमा प्रयोग हुँदा दुर्गन्ध बढेको छ । सिमावारी र पारी रहेका व्यवसायी तथा स्थानीयले दिनहुँ फोहोर दशगजामा ल्याएर फाल्ने गर्दछन् । दशगजामा कसैले पनि नियमन नगर्ने भएपछि टाढाटाढा बाट समेत फोहोर ल्याएर दशगजामा नै फाल्ने गर्दछन् । 

    विद्याालय कर्मचारीले तलब पाएनन्

    कावासोती नगरपालिका क्षेत्रमा रहेका विद्यालय कर्मचारीले विगत चार महिना देखि तलब नपाएको गुनासो गरेका छन् । कार्यालय सहयोगी, लेखापाल र बालविकास केन्द्रमा अध्यापन गराउने सहयोगी कार्यकर्ताले तलब नपाउँदा समस्या परेको भन्दै तत्काल तलब निकासा गर्न माग गरेका छन् । एउटै विद्यालयमा कार्यरत शिक्षकले तलब पाउने तर तत्लो तहमा काम गर्ने कर्मचारीलाई दशै, तिहार जस्तो महान पर्वमा समेत पारिश्रमीक नपाउँदा निरास भएका छन् । कावासोती नगरपालिकाका सा्रेत व्यक्ति हरि प्रसाद सिग्देलका अनुसार स्थानीय निकायको बनेट निमार्ण तथा विनियोजनमा क्रमभंगता भएकाले चाडपर्वको समयमा तलब निकासा नभएको बताए । नगर भित्र रहेका ४२ ओटा विद्यालयका कर्मचारीले तलब भत्ता नपाएका हुन् । 

    ऐतिहासिक नन्दन ताल अतिक्रमणको चपेटामा 

    पाल्हीनन्दन गाउँपालिका ६ सनई हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अतिक्रमणको चपेटामा परेको छ । करीब १ सय ४० विगाहामा फैलिएको तालको जग्गामा अहिले स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आईरहेका छन् । ताल सुकेर पोखरी जस्तो भएको छ ।  संरक्षण र प्रवर्दनका लागि वर्षेनी रकम विनियोजन हुने भएपनि अतिक्रमणकारीको अवरोधको कारण रकम फ्रिज हुने गरेको छ । वर्षेनी अतिक्रमणको चपेटमा पर्नु र संरक्षणका लागि गुरुयोजना नबन्दा तालको अस्तित्व नै खतरामा परेको हो ।  स्थानीयले अतिक्रमण गरेर वर्षौ देखी खेतीपाति गर्दै आएको भएपनि सरकारी निकायको उदासिनताको कारण अतिक्रमण रोकिएको छैन् । 

    प्रकाशित:कार्तिक ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्