संखुवासभा डायरी

- दीपेन्द्र शाक्य , संखुवासभा

    कार्तिक ९, २०७४ 

    कृषकले अलैंची खेती गर्न थालेपछि संखुवासभाका ग्रामीण भेगमा धान र कोदो खेती विस्तारै घट्दै गएको छ । धान र कोदो उत्पादन हुने जमिनमा कृषकले अलैंची रोप्न थालेका छन् । धान र कोदो उत्पादन गर्दै आएको चिस्यानी जग्गामा अलैंची खेती गर्दा दोब्बर आम्दानी भएको पाँचखपन नगरपालिका १ का कृषक बलबहादुर राईले बताउनुभयो । धान र कोदो उत्पादन गरिने खेतबारीमा अलैंची उत्पादन गर्न थाले पछि राम्रो आम्दानी लिइरहेका छन् । अलैंचीले उत्पादन दिन थालेपछि धान भन्दा अलैंची लाभदायक भएको राईले बताउनुभयो । उहाँको २० मुरी धान उत्पादन हुने जग्गामा ७ मन अलैंची उत्पादन हुन्छ । 

     

    अरुण नदी पारीको गाउँपालिकामा गाडी गुड्ने सडकमा खच्चडबाट दैनिक उपभोग्य सामान ढुवानी हुने गरेको छ । संखुवासभाको शिलिचोङ गाउँपालिकाका प्राय सबै वडाहरु सडक सञ्जालले जोडिए पनि अरुण नदीमा पुल नबन्दा अरुण पारीका बासिन्दा मारमा परेका हुन । खाँदबारी नगरपालिकाको हेलुवाबेसी र शिलिचोङ गाउँपालिकाको सीमानामा रहेको अरुण नदीमा पक्कि पुल नभएपछि त्यस क्षेत्रमा बासिन्दा सामान ढुवानीका लागि खच्चडको भर पर्न बाध्य छन् । शिलिचोङ गाउँपालिका अदुवाका लागि राम्रो मानिन्छ । अदुवा उत्पादन भएपनि सदरमुकाम सम्म ल्याउन नसकेको उनले बताए । पुल नभएका कारण त्यहाँ उत्पादीत उपभोग्य सामाग्रीले समेत मुल्य पाउन सकेको छैन। 

     

    संखुवासभामा साढे ८ हजार मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन कार्यालयले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा ८ हजार ५ सय ७८ जनाले नाम दर्ता गराएका हुन् । थपिएका मतदातामा ३ हजार ९ सय ५० महिला र ४ हजार ६ सय २८ पुरुष छन् । यहाँ ५ नगरपालिका र ५ गाउँपालिका छन् । नामावली साउन १ गते देखि भदौ ३ गतेसम्म संचालन गरिएको निर्वाचन अधिकारी ऋषिकुमार दाहालले बताउनुभयो । उहाँका अनुसार फोटो सहितको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने, त्रुटि सच्याउने, नामावली सार्ने लगायतका काम गरिएको थियो । दोस्रो चरणको स्थानीय तह निर्वाचनामा यो जिल्लामा ९६ हजार ६ सय ६६ मतदाता थिए । 

    आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभामा एक मात्र महिलाको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीबाट राजकुमारी गुरुङले उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले प्रदेशसभा क बाट उम्मेदवारी दिनु भएको हो ।  बाँकी ९ वटा दलबाट महिलाको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा १८ दल दर्ता भएपनि १० ओटा दलले मात्र उम्मेदवारी दर्ता गराएको हो ।

    प्रकाशित:कार्तिक ९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्