केन्याविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं

    मंसिर १७, २०७४

    -  वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरब इमरेट्स यूएई विरुद्ध हुने अन्तिम चरणको खेल अघिको अभ्यास म्याचमा नेपाली क्रिकेट टोलीले केन्यालाई ६ विकेटले पराजित गरेको छ । अबुधाबीस्थित नर्सरी ओभल क्रिकेट मैदानमा केन्याले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालको जीतमा दीपेन्द्रसिंह ऐरीको ४६ रनको योगदान रह्यो । हाफ सेन्चुरी बनाउनबाट चुकेका ऐरीले ३५ बल खेल्दै १ छक्का र ७ चौका प्रहार गरेका थिए । पारस खड्काको अनुपस्थितिमा टीमको कमानी सम्हालेका शरद भेषावकरले अविजित ३१ रनको इनिङ्स खेले । ओपनर दीलिप नाथ डकआउट भएको खेलमा अनिल साहले १३ र सागर पुनले १ रन जोडे । 

    केन्याका नेल्सन ओढिम्बोले २ तथा लुकास ओलुचले १ विकेट लिए । यसअघिटस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको केन्या ३२ दशमलव २ ओभरमा १ सय १० रनमा अलआउट भएको थियो । पहिलो विकेट पतन हुनु अघिसम्म आक्रामक खेल प्रस्तुत गरेको केन्याको इनिङ्स त्यसपछि धरमराएको थियो । केन्याका रुसब पटेलले २७ र एलेक्साउमाले २५ र गुरदीप सिंहले २२ रनको योगदान गरे । नेपालका ललित भण्डारीले सर्वाधिक ४ तथा आरिफ शेखले २ विकेट लिए । 

    नेपालले आगामी बुधबार र शुक्रबार यूएईसँग च्याम्पियनसिप अन्तर्गत दुई खेल खेल्दैछ । विश्वकप छनोटमा पुग्नबाट असफल हुँदै डिभिजन टु मा घटुवा भएका दुबै टोलीलाई खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ । 

     

    प्रकाशित:मंसिर १७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्