राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

काठमाडौं

    मंसिर १९, २०७४

    उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर तनाव बढीरहेका बेला संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टम्यान ४ दिने भ्रमणका लागि आज प्योङयाङ पुग्नुभएको छ । पछिल्लो ६ बर्षको अवधीमा राष्ट्रसंघका उच्च अधिकारीले उत्तर कोरिया भ्रमण गरेको यो पहिलो पटक हो ।

    उत्तर कोरियाले नीतिगत वार्ताका लागि भन्दै गत सेप्तेम्बरमा राष्ट्रसंघलाई अनौपचारिक र गत नोभेम्बर ३० मा औपचारिक भ्रमणको निम्तो दिएको थियो । उत्तर कोरियाले अमेरिकालाई ध्वस्त पार्ने क्षमता भएको दाबी सहित हालसम्मकै शक्तिशाली अन्तरमहादेशीय व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको एक साता नबित्दै राष्ट्रसंघका उच्च अधिकारीले गरेको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

    पूर्व अमेरिकी कुटनीतिज्ञ समेत रहेका फेल्टम्यान आगामी शुक्रबारसम्म उत्तर कोरियामै रहनुहुने छ । सो क्रममा फेल्टम्यानले उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो लगायत वरिष्ठ अधिकारीहरुसँग आपसी हित र चासोका बिषयमा छलफल हुने बीबीसीले उल्लेख गरेको छ । फेल्टम्यानले उत्तर कोरियाली नेता किम जोन उनसँग भने भेट नगर्ने बताईएको छ । 

     

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्