यूएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित

काठमाडौं
  • भेषावकर र मल्लको अर्धसतक ओझेलमा

मंसिर २०, २०७४-   विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरण अन्तरगत यूएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । २ सय २२ रनको मध्यम लक्ष्य यूएईले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

गुलाम सबिरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गर्दै यूएईको जितको आधार तयार पारेका थिए । मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट भए भने सबिर ८१ रनमा नटआउट रहे । नेपालले ७ जनालाई वल थमाए पनि कसैले जादुगरी वलिङ नगर्दा ब्याटिङ चलेको खेलमा नेपाल पराजित हुन पुग्यो । नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ ।  

यसअघि अबुधावीमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । तेस्रो क्रममा ब्याटिङ गर्न आएका भेषावकर ८१ रनमा नटआउट रहे । ओपनर दिलिप नाथलाई १६ रनमा गुमाएको नेपालको इनिङ्स उकास्न उपकप्तान मल्ल र भेषावकरले उल्लेख्य योगदान गरे । मल्ल ५४ रनमा आउट भए ।

क्याप्टेन पारस खड्का र सोमपाल कामीले समान २० तथा बिनोद भण्डारीले ४ रनको योगदान गर्दा आरिफ शेख भने डक आउट भए । बसन्त रेग्मी १४ रनमा नटआउट रहे । जाहुर खानले यूएईका लागि २ विकेट लिए । 

आठ राष्ट्र सहभागी च्याम्पियनसिप अन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टु मा घटुवा भईसकेकाले दुवै टोलीलाई सातौं चरणका खेल प्रतिष्ठाको लडाँई मात्र हो । १३ खेलको समाप्तीमा ९ अंक जोडेको नेपाल तालिकाको छैंठांै र समान खेलबाट ८ अंक जोडेको यूएई तालिकाको सातौं स्थानमा उक्लिएको छ । 

 

प्रकाशित:मंसिर २०, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्