म्याग्दीमा मतगणना शुरु

- घनश्याम खड्का, म्याग्दी

    मंसिर २१, २०७४

    -  म्याग्दीमा गत १० गते भएको प्रतिनिधि तथा प्रदेश सभाको मतगणना शुरु भएको छ । उद्घाटन मत गणना बेनी नगरपालिका वडा ३ भकिम्लीको जयन्ती मावि मतदान केन्द्र क, ख र मुसुङ्गडोले मावि मतदान केन्द्र, वडा ४ धौलागिरी मावि क, ख र ग केन्द्रका प्रतिनिधि सभाका मतपेटिका गणना शुरु गरिएको हो ।

    बेनी नगरपालिका ३ भकिम्लीमा १४ सय एक र ४ सिङ्गामा १४ सय ९८ मत खसेको छ । प्रतिनिधि सभाको दुई स्थान तथा प्रदेश सभा  क र ख को छुट्टाछुट्टै तीन कोठाको चार स्थानमा मत गणना गर्ने हुने छ ।

    ‘मत गणनामा कुनै विध्नबाधा र अड्चन आएन भने शनिबार बिहान सम्म मतपरिणाम आउने गरी गणना गर्ने तयारीमा छौं’ मतगणना सुरु गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले बताउनुभयो ।

    मत गणनास्थल तारजाली र सिसी क्यामेरा लगाईएको छ । प्रशासनले मतगणना स्थलको २० मिटर वरपर सडक क्षेत्रमा सवारी चलाउन र समुहमा बस्न निषेध गरेको छ । 

    मत गणना गर्ने कार्यकालागी निर्वाचन अधिकृत, सहायक अधिकृत तथा सुरक्षाकर्मी बाहेक सुपरिवेक्षक, गणक, सहयोगी, कम्प्युटर अपरेटर समेत कम्तीमा ५० जना कर्मचारी खटिने छन । 

    मत गणना सुरु भएसँगै राजनीतिक माहौल बढेको छ । उम्मेदवारको हार–जीतमा १० लाखसम्मका सट्टेबाजीको चर्चा चुलिएको छ । कार्यकर्ता तथा मतदाताहरुमा मत परिणामको कौतुहलता बढेको छ । 

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्