सर्वदलीय बैठक साढे ७ बजेसम्मका लागि स्थगित

- विष्णुलाल बुढा, डोल्पा(दुनै)

    मंसिर २१, २०७४

    -  मतगणनाका विविध विषयमा निर्णय गरी गणना शुरु गर्न साढे ५ बजे बोलाईएको सर्वदलीय बैठक स्थगित भएको छ । बैठक ढिलो गरी सवा ६ बजे शुरु भए पनि नेपाली कांग्रेसले समय मागेपछि स्थागित गरिएको हो । साढे ५ बजे बोलाइएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका प्रतिनिधि नआए पछि सवा ६ बजे मात्र शुरु भएको थियो ।

    बैठकमा अनुपस्थित भएपनि फोनमा नेपाली कांग्रेसले १ घण्टा समय मागे पछि साढे ७ बजेसम्मका लागि बैठक स्थागित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । साढे ७ बजे पनि नेपाली कांग्रेस उपस्थित नभए पनि सर्वदलीय बैठक बसेर मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

    बैठक स्थगित भए पछि पार्टी प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु, प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्मा लगायतका व्यक्तिहरु खाना खानको लागि निवास तर्फ लागेका छन् । मतगणना स्थलमा दल तथा उम्मेदवारका एक एक जना प्रतिनिधिहरु रहेका छन् । मतगणना स्थलमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा अवस्थालाई अत्यन्तै चुस्तदुरुस्त बनाइएको देखिएको छ । 

    डोल्पाबाट प्रतिनिधि सभा सदस्यका ४ जना उम्मेदवार छन् । एमालेबाट धनबहादुर बुढा, नेपाली कांग्रेसबाट अंगदकुमार बुढा, नेकपा(माले)बाट हर्कबहादुर ठकुल्ला र राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाही छन् । 

    प्रदेश सभाको निर्वाचन क्षेत्र क मा एमालेबाट नन्दसिंह बुढा र नेपाली कांग्रेसका वेगमसिंह ठकुरी र निर्वाचन क्षेत्र नं. ख मा माओवादी केन्द्रबाट बिरबहादुर शाही, नेपाली कांग्रेसका सुरेशबहादुर शाही, नयां शक्ति पार्टी नेपालका पुष्पराज बुढा र स्वतन्त्रबाट जयबहादुर डसाल उम्मेदवार रहेका छन् ।  

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्