गोरखामा मतगणना सुरु

- सुदिप कैनी, गोरखा

    मंसिर २१, २०७४-   गोरखाको दुई वटै निर्वाचन क्षेत्र र ४ वटै प्रदेशको मतगणना कडा सुरक्षा घेरा बिच सुरु भएको छ । मंसिर १० गते भएको निर्वाचनको मतगणना स्थलमा पुग्न ८ वटा सुरक्षा घेरा बनाईएको छ । संघको दुई/दुई ठाउँमा र प्रदेशको एक/एक ठाउँमा गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलिय बैठकपछि गणना सुरु गरिएको हो ।

    क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला विकास तथा बालबालिका र क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको सभाहलमा गणना थालिएको छ । गणनाका लागि ६० भन्दा बढी कर्मचारी खटिने छन् । क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठ र बावुराम भट्टराई बिच प्रतिस्पर्धा भएका कारण मतगणना अघि नै परिणाम सुन्न नेता कार्यकर्ताको सदरमुकाममा भिडभाड बढेको छ । उनीहरुको सहयोगी, शुभेच्छुक र नेता कार्यकर्ताहरु अयन्त्रबाट समेत जिल्ला आएका छन् ।

    मतगणनाका कारण होटलहरु समेत खचाखच भरिएका छन् । स्थानिय तह अनुसार मतपेटिकाहरु भित्र रहेका मतपत्रहरु मिसाएर गणना गरिएको हो । क्षेत्र नम्बर २ मा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतपत्र मिसाएर दुई ठाउँमा गणना थालिएको हो । पहिलो चरणमा करिब ६ हजार मतपत्र गन्ति थालिएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताउनुभयो ।  प्रत्यक्ष तर्फको मतगणना सकेर समानुपातिकको सुरु गरिने उहाँले बताउनुभयो ।

     निर्वाचन कार्यालयले जिल्लाको मतगणना सक्ने करिब १० दिने लाग्ने अनुमान गरेको छ । अधिकांश उम्मेदवारहरु दलका प्रतिनिधिहरु सहित मतगणना स्थलमा नै छन् । चर्चित उम्मेदवारद्धय भट्टराई र श्रेष्ठ भने राजधानी नै छन् । शुक्रबार सम्म आउने मतपरिणाम आंकलन गरेर मात्र उनीहरु जिल्ला आउने उनीहरु निकट स्रोतले जनाएको छ ।

    उनीहरुको प्रतिस्पर्धामा अनेक थरि पूर्व अनुमान र अड्कल बाजी भएका छन् । कार्यकर्ताहरु बिच लाख रुपैंया सम्मको बाजी समेत परेको छ । स्वतन्त्र विश्लेषकहरुले भने कडा प्रतिस्पर्धा र कम मतान्तरमा हारजित हुने दावी गरेका छन् । 

    क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट चिनकाजी श्रेष्ठ र बामगबन्धनका हरिकुमार अधिकारी बिच प्रतिस्पर्धा छ । मतगणनालाई लक्षित गरि मदिरा बेचबिखन र विक्रि वितरणमा समेत रोक लगाईएको छ ।  

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्