रोल्पामा मत गणना शुरु, ४ समूहमा गणना

- काशीराम डाँगी, रोल्पा

    मंसिर २१, २०७४

    -  पहिलो चरण अन्तर्गत रोल्पामा मंसिर १० मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत गणना शुरु भएको छ । बिहीबार ५ बजेबाट मत गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्रै तारबार गरी मिलाईएका चार काउन्टरमा मत गणना शुरु भएको छ ।

    मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि पहिलो चरण अन्तर्गत सम्पन्न रोल्पाको मत गणना थालिएको बताउनुभयो । गणना बेलुकी ५ बजेबाट भएको र निरन्तर हुने उहाँले बताउनुभयो । गणना शुरु हुनु अघि निर्वाचनमा भाग लिएका जिल्लास्थित राजनीतिक दलहरुका प्रतिनिधि सम्मिलित सर्वदलीय/सर्वपक्षीय बैठक बसेको थियो । बैठक मार्फत दलहरुले शान्तिपूर्वक रुपमा मत गणना गर्न सघाउने निर्णय गरेका थिए । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी मत गणनालाई निष्पक्ष एवं विश्वसनीय बनाउन सीसीटीभी क्यामेरा जडान गरिएको छ भने हलभित्रै रहेका चार वटा काउन्टर रहेका स्थानलाई तारबारले घेरिएको छ । बाहिरी क्षेत्रमा विभिन्न घेरामा सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो । 

    मत गणना स्थल बाहिर नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बललाई सुरक्षाका निम्ति खटाइएको छ । 

    गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३५ जना कर्मचारीलाई तालिम दिई खटाएको छ । गणना स्थल देखिने गरी भित्र र बाहिर हेर्न मिल्ने गरी ७ वटा सीसीटीभी क्यामेरा जोडिएको छ । गणना स्थल आसपास कडा सुरक्षा व्यवस्था मिलाइएको छ । 

    मुख्य निर्वाचन अधिकृतका अनुसार प्रतिनिधि र प्रदेश सभाको मत एकैसाथ गणना गर्न सुरु गरिएको हो । हलभित्रै निर्माण गरिएका चार वटा काउन्टरमध्ये दुई स्थानमा प्रतिनिधि सभा र दुईमा प्रदेश सभाको मत गणना थालिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

    मत गणना टोलीले झेनाम, थबाङ, गाम, पाङ, तेबाङ लगायतका मतदान केन्द्रमा रहेका मतपेटिकाबाट गणना सुरु गरेको छ । दुवै तहको निर्वाचनमा विभिन्न पार्टीका ९ जना उम्मेदार चुनावी प्रतिस्पर्धामा छन् । रोल्पामा ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र तय गरिएका थिए । करिब ५५ प्रतिशत मतदान भएको रोल्पामा सबै १ लाख २७ हजार ६ सय २९ मतदाता थिए । 

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्