इलाममा ६५ प्रतिशत मतदान

- विप्लव भट्टराई, इलाम

    मंसिर २१, २०७४-   शान्तिपूर्ण रुपमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा इलाममा ६५ प्रतिशत मत खसेको छ । कुनै पनि बाधा विरोध बिना निर्वाचन सम्पन्न भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनलाई असर गर्ने कुनै पनि कियाकलाप नभएको प्रशासनले जानकारी दिएको छ ।

    राती ४ बजेसम्म सबै मतपेटिका सदरमुकाम ल्याएर बिहान देखि गणना गर्ने तयारी रहेको मूख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीले जानकारी दिनुभयो । २६ संकलन केन्द्र मार्फत जिल्लाभरका मतपेटिका सदरमुकाम ल्याइने उहाँले बताउनुभयो । क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाल एवं २ मा पूर्व सभामुख सुवास नेम्बाङ उम्मेदवार भएको कारण जिल्लाको चुनावी परिणाम देशब्यापी चासोमा छ ।

    नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा भूपेन्द्र कट्टेल एवं क्षेत्र नम्बर २ मा स्थानीय स्तरमा लोकप्रिय नेता केशव थापा उम्मेदवार छन् । इलाममा स्थानीय निर्वाचनको तुलनामा मतदान घटेको हो ।

    स्थानीय निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । खनालले सूर्योदय नगरपालिकास्थित रम्फोकको राष्ट्रिय आधारभूत माविवाट मतदान गर्नुभयो । प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्र कट्टेलले सुर्योदयन नगरपालिकाकै मालुम केन्द्रवाट मतदान गर्नुभयो । नेम्वाङ, थापा र कांग्रेसका पूर्व महामन्त्री केवि गुरुङले सदरमुकामको बालमन्दिर केन्द्रबाट मतदान गर्नुभयो ।  

     

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्