सप्तरीको महदेवा मतदान केन्द्रमा एक मत पनि खसेन्

- अवधेशकुमार झा , राजविराज
  • ६० प्रतिसत मतदान, मतगणना शुक्रबार बिहानबाट

मंसिर २१, २०७४-  सप्तरी जिल्लाको महदेवा गाउँपालिकाको महदेवास्थित आधारभुत प्राथमिक विद्यालय मतदान केन्द्रमा एक जना पनि मतदाताले मतदान गरेनन् । कुल ९ सय ६० मतदाताले मतदान गर्ने गरी तोकिएको महदेवा २ को सो मतदान केन्द्रमा बिहीबार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म कर्मचारी र सुरक्षाकर्मी बाहेक कोही मतदाता मतदान गर्न नगएका हुन् ।

मतदान अधिकृत धनेश्वर साहका अनुसार सो मतदान केन्द्रमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारले आफना मतदान प्रतिनिधि समेत पठाएनन् । मतदान केन्द्रमा कोही मतदाता र उम्मेदवारका प्रतिनिधि नआएपछि बिहीबार बिहानै देखि साँझ ५ बजे सम्म कर्मचारीहरु त्यसै बस्ेका थिए । केही स्थानीय बासिन्दाहरुले देश टुक्रयाउने पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतको समर्थनमा मतदान बहिष्कार गरेको बताए । महदेवा राउतको गाउँ हो ।

उक्त गाउँमा यस अघि मुख्य राजनीतिक दल र मधेशवादी राजनीतिक दलका कार्यकर्ताहरु थिए । सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले महदेवा मतदान केन्द्रमा किन मतदाता नआएको कारण जानकारी हुन नसकेको बताउनुभयो । बिहाने देखि कोही मतदाता मतदान गर्न नआएपछि उक्त मतदान केन्द्रको नजिकको बस्तीमा माईकिङ गरी समेत मतगणनाका लागि आग्रह गरिएको थियो । तर कुनै पनि मतदाता मत खसाल्न नआएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो । महदेवाका मतदाताले आफुहरुको गाउँ क्षेत्रको विकास कुनै पनि मतदाताले नगरेको, बाढीको डुवानका बेला कोही सहयोग गर्न नआएकाले मतदान नगरेको बताएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । 

तर स्थानीय बासिन्दाले सञ्चारकर्मीसँग आफुहरुले सिके राउतको समर्थनमा मतदान बहिष्कार गरेको बताए । मतदान केन्द्रमा कुनै पन मतदाता मत खसाल्न नआएको सप्तरीमा यो दोश्रो पटक हो । यस अघि पहिलो संविधान सभाको निर्वाचनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको गाउँ रहेको त्रिकोलको एउटा मतदान केन्द्रमा कोही पनि मतदाताले मत खसाएका थिएनन् । 

 

सप्तरीमा ६० प्रतिसत मतदान

सप्तरीमा आज सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले जिल्लामा साँझ सम्मको तथ्याङ्कअनुसार ६० प्रतिशतको हाराहारीमा मतदान भएको बताउनुभयो । बिहान मतदाताको लाम मतदान केन्द्रहरुमा धेरै नदेखिए पनि दिउँसो मतदाताहरु उत्साही देखिएका थिए । 

 

प्रकाशित:मंसिर २१, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्