पाल्पामा मतगणनामा ढिलाई हुने

- माधव अर्याल, पाल्पा

    मंसिर २१, २०७४-  पाल्पा जिल्लाको मतगणना शुक्रबार मात्रै हुने भएको छ । बिहान सर्वदलीय बैठक बोलाउने र त्यसपछि अपरान्ह ११ बजे देखि मत्रै मतगन्ने तयारी भएको छ । पाल्पाका दुर्गम गाउँका मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा ल्याउन समय लाग्ने भएको छ ।

    क्षेत्र नम्बर १ को बाँकामलाङ्, ज्यामिरे, रहबास, बहादुरपुर साथै क्षेत्र २ को सत्यवती, बल्ढेङगढी लगायतका स्थानबाट ल्याउँदा शुक्रबार बिहान हुने भएकाले मतगणनामा ढिलाई हुने भएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताउनुभयो । 

    सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले मतगणना ढिला हुने भएको हो । 

    पाल्पा दरबारमा रहेका खाली कोठामा मतगणनाको तयारी भएको छ । उम्मेदवारका प्रतिनिधिलाई तारजाली भन्दा पछाडीको भागमा राखिने निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताउनुभयो । दुवै क्षेत्रको चार/चार बुथमा मतगणनाको तयारी भएको छ । पाल्पामा दुई प्रतिनिधि र चार प्रदेशसभाको निर्वाचन क्षेत्र रहेका छन् । 

    प्रकाशित:मंसिर २१, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्