विजयको उन्मादमा होइन प्रतिपक्षलाई साथ लिएर काम गर्छौं : अध्यक्ष ओली

- पर्वत पोर्तेल , काँकडभिट्टा
    उहाँले भन्नुभयो, ‘विगतमा विजयले उन्माद आउने गरेको देखिएको छ, विजयपछि राज्य दमनकारी हुने, कर्तव्यको वास्ता नगर्ने आशंका छ । म के आश्वास्त पार्छु भने हामी आफैं दमन देखेका र भोगेर यहाँसम्म आएका छौं । कहाँनेर दुख्छ घाउ भन्ने हामीलाई थाहा छ ।’

    मंसिर २५, २०७४

    -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजयको उन्मादमा नभएर प्रतिपक्षलाई साथै लिएर काम गर्ने बताउनु भएको छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि प्रमाणपत्र ग्रहण गर्ने क्रममा चन्द्रगढीमा एमाले अध्यक्ष ओलीले विजयको उन्मादमा होइन प्रतिपक्षलाई साथै लिएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । 

    उहाँले भन्नुभयो, ‘विगतमा विजयले उन्माद आउने गरेको देखिएको छ, विजयपछि राज्य दमनकारी हुने, कर्तव्यको वास्ता नगर्ने आशंका छ । म के आश्वास्त पार्छु भने हामी आफैं दमन देखेका र भोगेर यहाँसम्म आएका छौं । कहाँनेर दुख्छ घाउ भन्ने हामीलाई थाहा छ ।’

    बहुमतले मात्रै मुलुकमा स्थायित्व आउन नसक्ने भन्दै ओलीले नेतृत्वको इच्छाशक्ति भए विकास, समृद्धि र स्थायित्व ल्याउन कुनै गाह्रो नभएको उल्लेख गर्नुभयो । झापामा राप्रपा सहितको फरक गठबन्धन बनाउनु बाध्यता रहेको उल्लेख गर्दै ओलीले त्यसलाई झापाली मतदाताले शतप्रतिशत अनुमोदन गरेको बताउनुभयो ।

    प्रमाणपत्र ग्रहणपछि ओलीले वाम गठबन्धनलाई मतदाताले पत्याएको भन्दै जनताको पक्षमा काम गर्ने बताउनुभयो । भद्रपुरपछि झापा १ को धुलावारीमा आयोजित कोणसभामा ओलीले चुनावका लागि नभइ देश विकासका लागि वाम तालमेल गरिएको बताउनुभयो ।

    पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चाँडै वाम एकता हुने दावी गर्दै वाम गठबन्धनको विजयपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । जनताले चाहे अनुसारको सरकार बन्ने भन्दै जनताका इच्छा र आकांक्षा अनुसार सरकार अघि बढ्ने उहाँको भनाई थियो । कार्यक्रममा झापा १ बाट विजयी माओवादी केन्द्रका नेता राम कार्कीले वाम एकतालाई अब कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो । 

     

    प्रकाशित:मंसिर २५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्