कांग्रेसको विरासत खस्कंदै

- बसन्तप्रताप सिंह, बझाङ

    मंसिर २६, २०७४

    -   प्रजातन्त्र पुर्नस्थापना पश्चात कुनै न कुनै रुपमा आफ्नो बलियो उपस्थिति जनाउंदै आएको नेपाली कांग्रेसको विरासत पछिल्लो समय खस्कदै गएको छ । २०४८, २०५१ र  २०५६ मा  बलियो उपस्थिति जनाएको कांग्रेस २०७४ सालको निर्वाचन सम्म आईपुग्दा निकै नै रक्षात्मक बन्न पुगेको छ । 

    नेपाली कांग्रेसले २०४८ सालमा भएको आम निर्वाचनमा प्रतिनिधि सभाका दुवै सिटमा भारी मतका साथ विजयी भएको थियो । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिल्लाको ४७ गाविस मध्ये ३१ गाविस कांग्रेस नै जितेको थियो । लगत्तै २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा कांग्रेसले यो विरासत कायम राख्न सकेन ।

    निर्वाचन क्षेत्र नं १ मा एमालेसंग पराजित हुनु परे पनि निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेसबहादुर सिंहले जितेका थिए । 

    २०५४ सालको  सालको स्थानीय निकायको निर्वाचन सम्म आईपुग्दा एमालेले आफ्नो पकड बलियो बनाउंदै ४७ मध्ये ३२ गाविस जित्न सफल भयो । त्यही बिचमा एमाले पार्टी फुटेर माले एमाले भएको बेला २०५६ सालमा काग्रेसले पुन: आफ्नो पुरानो स्थान लियो । बझाङका दुवै क्षेत्र कांग्रेसले विजय गर्‍यो । 

    २०६४ साल सम्म आईपुग्दा कांग्रेसले आफ्नो मत संरक्षण गर्न सकेन । माओवादीको लहर चलेको बेला क्षेत्र नं १ मा एमाले र तुलनात्मक रुपमा कांग्रेस बलियो मानिएको क्षेत्र नं २ मा माओवादीले जित हात पार्‍यो । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन सम्म आईपुग्दा कांग्रेस निकै कमजोर भैसकेको थियो भने एमालेले एक पछि अर्काे गर्दै कांग्रेसको किल्लामा आफ्नो संगठन बलियो बनाउंदै लगेको थियो । ७० को निर्वाचनमा एमालेले कहिल्यै नजितेको क्षेत्र नं २ मा विजयी हुँदै बझाङका दुवै क्षेत्र आफ्नो पोल्टामा पार्न सफल भयो । 

    ‘वामपन्थीका महत्वाकांक्षी नाराले जनमत आर्कषण गर्‍यो । हामीले त्यसो गर्न सकेनांै’ नेपाली कांग्रेसका जिल्ला सचिव धुव्रराज जोशी भन्छन् ‘बृद्ध भत्ता लगायतका नौ महिने सरकारका कार्यक्रमहरुको प्रचार गर्दै गरिबी हटाउने नाराले जनतालाई लोभ्यायो । त्यती बेलै कांग्रेस भित्र गुटबन्दी निकै फराकिलो हुँदै सतहमा आएको थियो । त्यही मौकाको फाइदा वामपन्थीहरुले उठाए । हामीलाई उठ्नै नदिने गरी आक्रामक ढंगले संगठन विस्तार गरे’ कांग्रेसीहरुले एक पछि अर्काे गर्दै आफ्नै दलका उम्मेदवारलाई हराउने प्रतिस्पर्धामा लागेका कारण पनि कांग्रेसको जनमत तर्किएको उनको बुझाई छ । 

    कांग्रेसको आन्तरिक फुट्को फाइदा एमालेले २०७४ सालको स्थानीय तहमा पनि राम्रैसंग उठायो । १२ मध्ये ८ स्थानीय तहमा प्रमुख उपप्रुमुख र १ मा उपप्रमुख सहित जितेर एमाले जिल्ला कै अब्बल दलका रुपमा स्थापित हुन पुग्यो । नेपाली कांग्रेसले ४ स्थानीय तहमा चित्त बुझाउनु पर्‍यो ।  

    हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा पनि नेपाली कांग्रेसले साख जोगाउन सकेन । प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिट वाम गठबन्धनले कब्जा गर्‍यो । एमाले भित्रको आन्तरिक असन्तुष्टि चरम सीमामा पुगेको भनिए पनि मत परिणाम सम्म आईपुग्दा त्यसो देखिएन । बरु धेरै जसो कांग्रेस बहुल क्षेत्रबाट समेत वाम गठबन्धनले अप्रत्यासित ढंगले मत पायो । 

    वाम गठबन्धन समर्थक एक जना युवा लोकेन्द्र हिलारी भन्छन्, ‘एमालेको बलियो संगठन र राष्ट्रिय राजनीतिको प्रभाव बझाङका मतदातामा परेको देखियो । मनमोहन अधिकारी र केपी ओलीको सरकार पालामा भएका कामको प्रभाव पनि बझाङमा परेको हो’ । 

    यसबाहेक एमालेका तर्फबाट ७० सालमा निर्वाचित भएका सांसदले गरेको विकासको प्रभाव पनि मतदातामा परेको जयपृथ्वी नगरपालिकाका प्रविन्द धामीको विश्लेषण छ । कांग्रेससंग आर्कषक चुनावी एजेन्डा नहुनु, विगत र वर्तमान तौलने खालको चेतना मतदातामा विकास भएका कारण पनि वामपन्थीहरु बलियो हुँदै गएको उनले बताए । उनले भने, ‘वामपन्थीहरुलाई पनि जनताले अन्तिम विकल्पको रुपमा यो पाला अवसर दिएका हुन । उनीहरुको व्यवहारमा सुधार भएन भने अर्काे निर्वाचन सम्म यहि जनमत कायम रहने सक्ने अवस्था नहुन सक्छ’

     

     

    प्रकाशित:मंसिर २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्