कालिकोट डायरी

- तुलाराम पाण्डे, कालिकोट

    पुस २०, २०७४ -  कालिकोटका अधिकांश स्थानीय तहमा अझै कार्यकारी अधिकृत र वडा सचिव आएका छैनन् । जिल्लाको तिलागुफा नगरपालिकाका कार्यकारी अधिकृत दशैं अघि सरुवा भएर गएपछि नयाँ आएका छैनन् । केही गाउँपालिकामा अधिकृत स्तरको कार्यकारी हुनुपर्ने भए पनि सान्नी त्रिवेणी, महाबै पचालझरनामा पुरानै गाविस सचिवले कार्यकारी भएर काम चलाएका छन् ।

    जिल्ला समन्वय समितिमा पनि गत भदौ देखि स्थानीय विकास अधिकारी छैनन् । कालिकोटका ८२ वडा मध्ये ५२ वडामा वडा सचिव पनि नभएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताउनुभयो । कर्मचारी नहुँदा सेवाग्राही मर्कामा छन् । 

    विद्यालयमा राजनीतिक गतिविधि नगर्ने, बालबालिकालाई दण्ड सजाय नदिने लगायत प्रतिबद्धता सहित कालिकोटका १ सय ६२ वटा विद्यालयलाई औपचारिक रुपमा शान्ति क्षेत्र घोषणा गरिएको छ । जिल्लाका ३० वटा मावि र १ सय ३२ आभारभूत तहका विद्यालय शान्ति क्षेत्र घोषणा भएका हुन् । ती विद्यालयमा दलीय हस्तक्षेपमा कमी भएको छ भने विद्यालयको पठनपाठन अवरुद्ध हुने गरी अन्य गतिविधिमा पनि रोक लगाइएको छ । सरकारले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा ०६८ जारी गरेर देशभरका जिल्ला शिक्षा कार्यालय मार्फत कार्य अघि बढाएपछि विद्यालयले शान्ति क्षेत्रलाई अभियानका रुपमा घोषणा गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी जसीप्रसाद चौलागाईले बताउनुभयो । 

    कालिकोटको पलाता, पचालझरना र तिलागुफा नगरपालिकाका केही वडामा फैलिएको भाइरल ज्वरोको उपचारका लागि स्थानीय तहले औषधी सहित स्वास्थ्यकर्मी गाउँ पठाएको जनाएका छन् । जिल्लाको पलाता गाउँपालिकाले १५ जना स्वास्थ्यकर्मी खीन, धौलागोह, र थिर्पू पठाइएको गाउँपालिका अध्यय लक्षमण बमले बताउनुभयो । त्यस्तै जुम्लासग सिमाना जोडिएको तिलागुफा ३ मा पर्ने फोइमहादेवमा फैलिएको भारइरल ज्वरोको उपचारका लागि घर घरमा औषधी र स्वास्थ्यकर्मी पठाइएको नगर उपप्रमुख दन्ता नेपाली दर्शनाले बताउनुभयो ।

    कालिकोटका साविकका ९ गाविसमा ३६ जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । ती मध्ये २१ महिला र १५ पुरुष छन् । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ३ पुरुष र एक महिला छन् । जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव रविन्द्र सेजुवालका अनुसार सबैभन्दा बढी लालु गाविसमा ९ जना भेटिएका छन् भने कम नानीकोट, सिप्खाना र कोटवाडामा एक/एक जना छन् । ती मध्ये एक ८ वर्षीया बालिका छन् । धेरैजसो ज्याला मजदुरीका लागि भारत गएका पुरुष संक्रमित भएर घरमा पत्नीलाई सारेको पाइएको स्वास्थ्यकर्मीको भनाई छ । ३६ जना संक्रमित भएको पत्ता लागे पनि एक जना मात्र खुलेको एचआइभी संक्रमितको लागि क्रियाशील कर्णाली प्लसका कार्यक्रम संयोजक दिपक बहादुर शाहीले बताउनुभयो । 

    प्रकाशित:पुस २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्