पुस २१, २०७४

 - सुन्तलाको मध्य सिजन भएपनि गत बर्षको तुलनामा यो बर्ष ६० प्रतिशत कम उत्पादन भएको छ । पुर्वी पहाडका कृषकहरुले बर्षाैदेखि सुन्तला खेती गर्दै आएपनि यो बर्ष अधिकांस कृषकको बगानमा सुन्तलाको बोट सुकेर मर्न थालेपछि उत्पादनमा कमी आएको हो ।

पुर्वीपहाडमा उत्पादित सुन्तला धरानको कृषी उपज बजारमा संकलन भएर अन्यत्र थोक मुल्यमा बिक्रि हुँदै आएको छ । धनकुटाका साविक छिन्ताङ हाल शहीद भूमि गाउँपालिकाका सुन्तला कृषक बलबहादुर राईका अनुसार चार बर्ष अघिदेखि सुन्तलाको बोट पहेंलिएर सुक्न थालेको थियो । छिन्ताङबाट मात्र गत बर्ष करिव दुइ करोड रुपैयाँको सन्तला धरानमा बिक्रि गरिएको उनले बताए । तर यसपालीको सिजनमा हालसम्ममा १५ लाख रुपैयाँ जतिको मात्र बिक्रि गरिएको राईले बताए । बोटमा लागेको रोगबारे कृषि विज्ञहरु समेत अनभिज्ञ छन् । 

सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुइ चिकित्सक पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा प्रतिष्ठानको स्त्री तथा प्रसुती विभाग प्रमुख प्रा डा मोहनचन्द्र रेग्मी र बालरोग विभागका डा अरुण कुमार सिंह रहेका छन् । प्रा डा रेग्मीलाई नेपाल एजुकेशन लिडरशीप अवार्ड अन्तर्गत स्त्री तथा प्रसुती सम्बन्धी मुलुककै उत्कृष्ट प्रोफेशर चिकित्सक पुरस्कार प्रदान गरिएको छ । उनी फिस्टुला रोग सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षक समेत हुन् । यसैगरी प्रतिष्ठानकै बालरोग विभागका विषेशज्ञ चिकित्सक डा अरुण कुमार सिंहलाई जापानमा एलेन ड्रास क्लिनिकल फेलोशिपमा उत्कृष्ट प्रस्तुती दिएको भन्दै इन्टरनेशनल सोसाइटी फर पेडियाट्रि एण्ड एडोलसेन्ट डाइवेटिज अवार्ड प्रदान गरिएको छ । डा. सिंहले बालबालिका र किशोर किशोरीमा हुने मधुमेहमाथि वैज्ञानिक अनुसन्धान गरेका छन् । 

धरान उपमहानगरपालिकामा पर्ने साविक पाचकन्यामा प्रहरी जनशक्ति अभाव भएको भन्दै स्थानीय बासिन्दाले आज इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । वडा न ६ पानबारीका वडाध्यक्ष भुवनसिं बस्नेतको नेतृत्वमा आएका स्थानीय बासिन्दाले प्रहरी जनशक्ति बढाउन माग गर्दै प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । पाचकन्याका विद्याय, सामुदायिक वन र निजी पसलहरुमा केही सातादेखि श्रृङ्खलाबद्ध चोरी र लुटपाट हुन थालेपछि स्थानीय बासिन्दाले प्रहरी चौकीमा जनशक्ति बढाउन माग गरेका हुन् । पाचकन्याको पानबारीमा रहेको प्रहरी चौकीमा ११ जनाको दरवन्दी रहेपनि हाल चारजनामात्रै कार्यरत रहेका छन् । 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको एउटै वडामा आर्थिक वर्ष २०७४/७५ का लागि विकास निर्माण गर्न भनेर दर्जन बढी उपभोक्ता समितिहरु बनेका छन् । नगरपालिकाको वडा १ मा डेढदर्जन योजनाहरुको उपभोक्ता समिति गठन भएको सचिव लक्ष्मण पौडेलले बताए । गठित योजनाहरुमा भण्डारीटार, चावाचा, वागदलवारी वाटो मर्मत, केरावारी खानेपानी ट्यांकी निर्माण, मिलन चौक देखि सुर्यकुण्ड वाटो मर्मत, रानी खोला कटान क्षेत्र, दुधपानी मुहान खानेपानी, अर्चले–बान्द्रे चौरीमोटर वाटो, जुटपाख्री खानेपानी मर्मत, अर्चले खानेपानी मुहान मर्मत, मूलगाउँ–सुर्यकुण्ड– देउराली पाखाटोल सडक स्तरोन्नती, कुप्पे भन्ज्याङ्ग धापा चियावारी दमाई बस्तीसम्म टयाक्र खोल्ने लगायत रहेका छन् । 

प्रकाशित:पुस २१, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्