ताप्लेजुङ डायरी

- आनन्द गौतम, ताप्लेजुङ

    पुस २३, २०७४ -  ताप्लेजुङमा आइतबार यो वर्षकै सबै भन्दा चिसो भएको छ । तर न्यूनतम तापक्रम गत वर्षको जती कम भने भएको छैन । पूर्वाञ्चल हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार आइतबार बिहानको न्यूनतम तापक्रम १ दशमलव ४ डीग्री सेलिसयस रहेको थियो । अघिल्ला दुई दिन शुक्रबार र शनिबारको तुलनामा १ डिग्री सेल्सियस घटेको हो । अघिल्ला दुइदिन २.४ डिग्री सेल्सियस थियो । गत वर्ष आजैको दिन ४ डीग्री सेल्सियस रहेको थियो भने गत वर्षको माघ १ गते १ डीग्री सेल्सियस मापन गरिएको थियो ।

    विगतका वर्षलाई स्मरण गर्ने हो भने ताप्लेजुङका डाँडाँहरु यती बेला हिउँले टम्म भरिन्थे । बाहिरबाट घुम्न जानेहरु हरेक डाँडाँलाइ हेरेर कुन हिमाल हो भनेर सोध्थे । तर यो वर्ष आधा पुष ढल्की सक्दा पनि हिउँ परेको छैन । ३१ सय मिटर उचाइको पाथीभराको माथिल्लो फेदी र चिनसँगको सिमावर्ती गाउँ ओलाङचुङगोलाका बासिन्दा अहिलेसम्म हिउँ देख्न नपाएको बताउँछन । 

    गत वर्ष आजैको दिन नेपालको अलैंचीको मूल्य प्रतिमन ५२ हजार थियो । तर यो वर्ष ३७ हजारमा झरेको छ । लगातार ओरालो लागि रहेको मूल्यले नेपालका अलैंची कृषकलाई निरास बनाएको छ भने सबैभन्दा बढी अलैंची उत्पादन गर्ने ताप्लेजुङका किसान झनै समस्यामा परेका छन । अलैंची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई अन्तर्राष्ट्रिय बजार भएकाले माग घटेकै कारण मूल्य घटेको दावी गर्नुहुन्छ । 

    चार वर्षपछि आगामी फागुन ३ गते ताप्लेजुङमा पाथीभरा हिमालयन गाइड्स म्याराथन प्रतियोगिता हुने भएको छ । प्रथम, द्धितिय र तृतीयलाई खुलातर्फ १ लाख ५१ हजार १ सय ११, १ लाख ११ हजार ११ र ५१ हजार १११ तथा महिला तर्फ ८१ हजार १ सय ११, ५१ हजार १ सय ११ र ३१ हजार १११ रुपैयाँ पुरस्कार राशी सहितको म्याराथन हुन लागेको हो । खुला तथा महिला दुवै तर्फ टप टेनका लागि जनही ५ हजारले प्रोत्साहन रकम पनि दिइने भएको छ । 

    प्रकाशित:पुस २३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्