निर्यात प्रवद्र्धनका लागि दोश्रो पूर्वाञ्चल पुष्प व्यापार मेला

- प्रदीप मेन्याङ्बो, धरान

    पुस २६, २०७४

     -  फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा धरानमा भोलिबाट दोश्रो पूर्वाञ्चल पुष्प व्यापार मेला शुरु हुने भएको छ । कृषि विकास मन्त्रालयको सहयोगमा धरानको अमनबजारमा आयोजना हुने मेलामा ३२ स्टल रहने छन् । 

    सुनसरी, मोरङ, झापा, इलाम र दार्जिलिङका पुष्प व्यावसायीहरुको सहभागिता रहने मेलामा ४५ लाख रुपैयाँको कारोबार हुने आयोजकले जनाएको छ । पूर्वमा ठूला साना पुष्प व्यावसायी गरी करीब डेढ सय जना व्यवसायी छन् । गत वर्ष आयोजित २० स्टलको पुष्प मेलामा करीब २५ लाख रुपैयाँको कारोवार भएको थियो । माघ ५ गते सम्म सञ्चालन हुने मेलामा भवेना, मेरोगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायतका मौसमी, सदाबहार, क्याक्टस, इन्डोर प्लाण्ट लगायतका पाँच सय भन्दा बढी प्रजाती फूलहरुको प्रदर्शनीसंगै बिक्री वितरण गरिने आयोजकले जनाएको छ । 

    मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा (ग्रीन प्लाण्ट), सुनाखरी, फूलमा प्रयोग गरिने कम्पोष्ट मल, फूलको गानो, बीउ विजन, कृषि औजार, प्याकेजिङका सामाग्रीहरु पनि प्रदर्शनीमा राखिने पूर्वाञ्चल पुष्प व्यापार मेला संयोजक खगेन्द्र पोखरेलले बताउनुभयो । 

    उहाँले नेपाललाई फूलमा आत्मनिर्भर बनाउंदै छिमेकी मुलुकमा निर्यात गर्न सक्षम हुनका लागि पुष्प व्यापार मेला आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकका ३९ जिल्लामा करीब ६ सय ७८ पुष्प व्यावसायीले १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यावसाय गरेर वार्षिक १ अर्ब ७१ करोड २९ लाख रुपैयाँको कारोबार गर्दै फूलमा आत्मनिर्भर हुने क्रममा छौं ।’  

    फ्लोरिकल्चर एसोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष रामजी प्रसाद तिमिल्सीनाले नेपालमा अझै पनि जापान, हल्याण्ड र अमेरिका भारतलगायत मुलुकबाट वर्षमा १० करोड ५ लाख रुपैयाँको आयात गर्ने गरिएको बताउनुभयो । उहाँकाअनुसार निर्यात भने ३ करोड मात्र रहेको छ । निर्यात बढाउनका लागि पुष्प व्यावसायीहरुको संख्या र नर्सरी विस्तार गर्दै जानु पर्ने उहाँले बताउनुभयो । फूलको आयात प्रतिस्थापन गर्न पुष्प व्यावसायीहरु फूल प्रेमीहरुको रुची अनुसार नर्सरीमा उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो । 

    गत वर्ष सिजनल फूल बिरुवाबाट २७ करोड ५३ लाख रुपैयाँ, आलंकारिक बोट बिरुवाबाट ५२ करोड ९६ लाख रुपैयाँ, कट फ्लावरबाट २८ करोड ३९ लाख रुपैयाँ, ल्याण्ड स्केप गार्डेनिङबाट २१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार गरिएको उहाँले जानकारी दिनुभयो । 

    उपाध्यक्ष तिम्सिनाले भन्नुभयो, ‘पछिल्लो समयमा पुष्प व्यावसाय रोजगारी दिलाउने उद्योगको रुपमा विकसित भइरहेको छ । अब दिगो रुपमा संस्थागत विकासका साथै गुणस्तरीय उत्पादन गर्दै आन्तरिक बजार व्यवस्थापन गरेर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा एसोसिएसनको ध्यान तानिएको छ ।’

     

    प्रकाशित:पुस २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्