कास्की डायरी

- दीपक परियार, लेकनाथ

    पुस २६, २०७४ -  कास्कीको मादी गाउँपालिकाको सैमराङमा दीगो कृषि प्रविधिले किसानलाई सहज बनाएको छ । सैमराङको उपल्लो साप्लेका किसानले कृषि समूह नै बनाएर विभिन्न कृषि औजारको प्रयोगमा जोड दिएका छन् । प्लास्टिक टनेलमा तरकारी खेती, प्लास्टिक पोखरी, थोपा सिंचाई, कोदो झार्ने थ्रेसर, मकै छोडाउने हाते मेसिन, धान गोड्ने, फल टिप्ने लगायत औजोर किसानले प्रयोग गरेका छन् ।

    जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) को दीगो कृषि प्रविधि परियोजनाले सैमराङका किसानलाई प्राविधिक सहयोग गरेको हो । तीन कन्या कृषि समूहकी सचिव सविना गुरुङले दीगो कृषि प्रविधिले समय र लागतमा बचत भएको बतउनुभयो । 

    संसारकै होचो स्थानमा रहेको दावी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउँदै नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ । पछिल्ला एक दुई वर्ष यता बढी चर्चामा आउन थालेको कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा समुन्द्र सतहबाट मात्र २ हजार ४ सय ५० मिटरको उचाईमा यो ताल रहको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान समेत सञ्चालन गरेको थियो । अन्नपूर्ण दोस्रो र लमजुङ हिमाल बीचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाह सम्भावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।  

    पोखरामा एकै समयमा दुई ठूला मेला जुधाइएको छ । पोखरा उद्योग वाणिज्य संघले गर्ने औद्योगिक व्यापार मेला र युनाइटेड क्लबले गर्ने पोखरा महोत्सव एकै मितिमा हुने भएका हुन् । वाणिज्य संघले ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला’ पुस २७ देखि माघ ८ सम्म नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा गर्दैछ । युनाइटेड क्लबले उक्त मितिमै अमरसिंह चौरमा पोखरा महोत्सव गर्ने भएको छ । एकै प्रकृतिका दुई मेला एकै समयमा हुने भएपछि दुबै आयोजकलाई असर पर्ने यहाँका व्यवसायीको अनुमान छ । बिहीबाट सुरु हुने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । दुवै मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनका स्टल रहनेछन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले वार्षिक क्यालेन्डर अनुसारनै मेला आयोजना गरिएको बताउनुभयो । 

    प्रकाशित:पुस २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्