म्यानमारको सेनाद्वारा रोहिंग्या मुसलमानको हत्यामा संलग्न रहेको स्वीकार

    पुस २७, २०७४म्यानमारमा सरकारी सेनाले रखाइन प्रान्तस्थित रोहिंग्या समुदाय लक्षित हत्या तथा हिंसामा आफ्नो संलग्नता स्वीकारेको छ । यसअघि रोहिंग्याको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको म्यानमारको सेनाले पहिलो पटक रोहिंग्या समुदाय लक्षित हिंसामा आफ्ना केही सैनिकको संलग्नता रहेको स्वीकारेको हो ।

    यद्यपी सबै घटनामा आफ्ना सैनिकको संलग्नता नरहेपनि केही घटनामा भने संलग्नता पुष्टि भएको सेनाले जनाएको छ ।  एक अनुसन्धानका क्रममा आफ्ना ४ जना सेनाले प्रतिशोधको नियतले इनदिन गाउँका १० जनाको रोहिंग्या मुसलमानहरुको हत्या गरेको पाइएको सेनाको अनुसन्धनात्मक प्रतिवेदनमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

    प्रतिवेदनमा मारिएकालाई बंगाली आतंकवादीको संज्ञा दिइएको छ भने आक्रमणमा स्थानीय बासिन्दाले समेत मद्दत गरेको दावी गरिएको छ । गत अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा भड्किएको हिंसाको क्रममा रोहिंग्या मुसलमानमाथि आम नरसंहार गरेको आरोप म्यानमारको सरकार र सेनामाथि लाग्दै आएको छ । 

    सेनाले रोहिंग्या समुदाय  केन्द्रित आक्रमण गरेको र सो क्रममा सयाँैको मृत्यु हुनुका साथै लाखौँ विस्थापित भएको भन्दै अन्तराष्ट्रिय समुदायमा समेत आलोचना भइरहेको छ । यद्यपी सरकार र सेना दुवैले सो आरोपको खण्डन गर्दै आएका छन् । हिंसाकै कारण म्यानमारका ६ लाख ५० हजार भन्दा बढी रोहिंग्या मुसलमानहरु छिमेकी मुलुक बंगलादेशमा शरण लिन पुगेका छन् । 

    प्रकाशित:पुस २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्