दमक महोत्सव शुरु

दमक

    पुस २७, २०७४ -  झापाको दमकमा आजबाट दमक महोत्सव शुरु भएको छ । स्थानीय उत्पादन तथा व्यापार प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेको उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।

    महोत्सवमा पूर्वमा उत्पादन हुने चिया, च्याउ, अचार, अन्य कृषि उपजका सामानहरु, अटो मोबाइल, होटल, हस्तकला, घरेलु उत्पादन, कस्मेटिक सामान, खाद्यान्न, चुत्ता चप्पल, कपडा, बेकरी, भाँडावर्तन, बैंक तथा वित्तीय संस्थालसहित एक सय ५३ वटा स्टल रहेको महोत्सव व्यवस्थापन समिति संयोजक राजन दंगालले बताउनुभयो । 

    महोत्सवमा आकर्षणका लागि हेलिकप्टर, उट र घोडा पनि ल्याइएको छ । हेलिकप्टर चढेर स्थानीय क्षेत्रको दृष्यावलोकनको व्यवस्था मिलाइएको छ । घोडामा चढेर महोत्सव घुम्न सकिने छ भने उटलाई फोटो सेसनका लागि राखिएको छ । 

    महोत्सवमा पोखराबाट होटल, काठमाडौंबाट कपडा पसल, बैंक लगायतका स्टलहरु रहेका छन् । महोत्सवको बिहीबार एक कार्यक्रमकाबीच प्रदेशसभा सदस्य अर्जुन राईले उद्घाटन गरे । संघमा आबद्ध व्यापारीहरुको हितमा खर्च गर्न २५ लाखको व्यवसायी हित कोष स्थापनार्थ महोत्सव आयोजना गरेको दंगालले जानकारी दिए । उनले महोत्सव आयोजनामा ८७ लाख रुपैयाँ खर्च लाग्ने बताए । संयोजक दंगालका अनुसार महोत्सवबाट एक करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । दमकमा ५ बर्षपछि महोत्सव आयोजना गरिएको हो । 

     

    प्रकाशित:पुस २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्