चीनबाट ल्याएको इन्टरनेट सेवा आजबाट व्यवसायिक रुपमा सञ्चालनमा

काठमाडौं

    पुस २८, २०७४

     -  भारतीय एकाधिकार तोड्दै नेपाल टेलिकमले चीनबाट ल्याएको इन्टरनेट सेवा आजबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । निरन्तरको प्रयासपछि नेपाल टेलिकम र चीनको चाइना टेलिकम ग्लोबलबीच ‘क्रसबोर्डर अप्टिकल फाइबर लिंक’ को आजबाट औपचारिक रुपमै सेवा शुरु भएको हो । योसँगै २ दशक लामो समयदेखिको भारतीय एकाधिकार समेत अन्त्य भएको छ ।

    आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले इन्टरनेट सेवाको शुभारम्भ गर्नुभयो । नेपाल १ दशमलब ५ जिबी प्रतिसेकेण्ड क्षमताको दूरसञ्चार सेवासँगै भारत र चीन दुवैतिरबाट जोडिएको छ । नेपालले भारत मात्रैको परनिर्भरता अन्त्य गर्न रसुवागढी नाका हुँदै ब्यान्डविथ किन्ने विषयमा चाइना टेलिकम ग्लोबलसँग गत मंसिर २२ गते सम्झौता गरेको थियो ।

    सोही सम्झौता बमोजिम चिनियाँ स्थल मार्गबाट रसुवा हुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट इन्टरनेट कनेक्सन ल्याइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रीय प्रणालीमा जोडिएको छ । 

     

    प्रकाशित:पुस २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्