जाजरकोटको संक्रमण इन्फ्लुएन्जा

- भीमबहादुर सिंह, जाजरकोट

    पुस २९, २०७४ -  जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन साता देखि फैलिएको संक्रमण भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागको काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालाले बिरामीको नमूना परीक्षणपछि संक्रमण पुष्टि गरेको हो ।

    प्रयोगशालामा बिरामीको खकार, सिंगान र र्‍याल परीक्षण गर्दा ए टाईपको एच थ्री ए टु भाईरस देखा परेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले बताउनुभयो । ५ वटा नमूना मध्ये एउटामा सो जीवाणु फेला परेको आचार्यको भनाई छ । ईन्फ्लुएन्जा जटिल खालको माहामारी नभएको बताउंदै आचार्यले संक्रामक रोग भएकाले तत्काल उपचार तथा नियन्त्रणका लागि उच्च सर्तकता अपनाउन सुझाउनुभयो ।

    जुनीचाँदेको १, २, ३ र ११ वडामा फैलिएको भाईरल इन्फ्लुएन्जा तथा रुघाखोकी भने नियन्त्रण उन्मुख भएको छ । स्वास्थ्य क्याम्पमा आउने बिरामीको संख्या घट्दै गएको र उपचारमा आएका बिरामीमध्ये अधिकांशमा ज्वरो मात्र देखिएपछि भाइरल नियन्त्रण नजिक रहेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताउनुभयो । रोग प्रभावित क्षेत्रमा सञ्चालित क्याम्पमा ३/४ दिन अघि जस्तो बिरामीको चाप नभएको जिल्ला स्वास्थ्य प्रमुख नेपालीले बताउनुभयो ।

    रोग प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले आज १ सय २३ जना बिरामीको उपचार गरेका छन् । हिजोसम्म १ हजार ८ सयको बिरामीको उपचार भएको थियो । रोग पूर्णरुपमा नियन्त्रणमा नआएसम्म प्रभावित क्षेत्रबाट स्वास्थ्यकर्मी नफर्कने नेपालीको भनाई छ । कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डाक्टर नम्रता सिन्दान, ३ मेडिकल अधिकृत सहित २ दर्जन स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गर्दै आएका छन् । 

    यसैबीच स्वास्थ्य सचिव डा. पुष्पा चौधरी नेतृत्वको टोलीले आज रोग प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । चौधरीसहित गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्त, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर आचार्य, सांसद शक्तिबहादुर बस्नेत, प्रदेश सभा सदस्य करबीर शाही लगायतको टोली औषधी र स्वास्थ्यकर्मी सहित रोग प्रभावित क्षेत्र पुगेको थियो ।

    जुनीचाँदेमा फैलिएको रोग सामान्य खालको रुघाखोकी भएको स्वास्थ्य सचिव चौधरीले बताउनुभयो । रुघाखोकी रोग जटिल प्रकृतिको माहामारी नभएकाले स्थानीय बासिन्दालाई नआत्तिन चौधरीको आग्रह थियो । 

     

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्