चितुवाको छालासहित तीन युवक पक्राउ

- आश गुरुङ, लमजुङ

    पुस २९, २०७४ -  चितुवाको छालासहित तीन जना युवकलाई प्रहरीले लमजुङबाट पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका ९, झिंगेखोलास्थित एक होटलको कोठामा लुकाइछिपाई राखिएको अवस्थामा चितुवाको छालासहित ३ जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट बरामद गरिएको छाला र पक्राउ गरिएका ३ जनालाई आज सार्वजनिक गरिएको हो । चितुवाको छाला लुकाई छिपाइ राखिएको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले चितुवाको छालासंगै तीन युवक पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बुद्धिसागर पुरीले बताउनुभयो । 

    चितुवाको छालासहित सुन्दरबजार नगरपालिका वडा नं. ५ तार्कुका २७ वर्षीय विनोद तामाङ, सुन्दबजार नगरपालिका वडा नं. ४ का २७ वर्षीय राजेश अधिकारी र सुन्दरबजार नगरपालिका वडा नं. ६ का २७ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको इन्सपेक्टर पुरीले बताउनुभयो ।

    दोर्दी गाउँपालिकाको विकट गाउँ ताँजे क्षेत्रबाट चितुवाको छाला ल्याएको बयान दिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कारबाहीको लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । 

     

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्