लमजुङका एक युवकको स्पेनमा मृत्यु

- आश गुरुङ, लमजुङ

    पुस २९, २०७४ -  रोजगारीको लागि स्पेनमा बस्दै आएका एक लमजुङे युवकको मृत्यु भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको उनका साथीहरुले बताएका छन् । गत बैशाखमा बिहे गरेर स्पेन गएका लमजुङको दोर्दी गाउँपालिका २, सल्लाबोटका २८ वर्षीय अमरजंग गुरुङको मृत्यु भएको त्यहाँस्थित उनका साथीहरुले बताएका छन् ।

    स्थानीयका अनुसार घटना गत २४ गते राती नै भएपनि परिवारलाई भने जानकारी गराएका थिएन । घटनाबारे परिवारलाई जानकारी गराएको र गुरुङको शव छिटो नेपाल ल्याउन आग्रह गरिएको अमरजंगका दाई नाता पर्ने स्थानीय शिक्षक मोहन गुरुङले बताए । 

    स्पेनको क्याटलोनिया क्षेत्रअन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका अमरजंग ड्युटी सकेर डेरामा फर्किएपछि राती ह्दयघात भएको अनुमान उनका साथीहरुले लगाएका छन् । सन् २०११ देखि स्पेनमा बस्दै आएका उनी गएको बैशाखमा फर्केर विवाह गरी पुन: स्पेन फर्केका थिए । तीन दाजुभाइमध्ये उनी कान्छो छोरा हुन् । घरमा पत्नि, बुवाआमा लगायत परिवारका अन्य सदस्य रहेका छन् । 

     

    प्रकाशित:पुस २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्