मेलम्ची खानेपानी आयोजनाको निर्माण पूरा हुन अझै ६ महिना लाग्ने

- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं
  • काकाकुल काठमाडौंबासीको अपेक्षामा पुन: तुषारापात

पुस ३०, २०७४ -  काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजना निर्माण निर्धारित समयमै नसकिने सम्भावना बढ्दै गएको छ । विसं २०५५ कार्तिक २३ गतेबाट सुरु गरिएको आयोजना सम्पन्न भएपछि काकाकुल काठमाडौंबासीले राहतको महसुस गर्ने अपेक्षामा आयोजनामा भएको ढिलाईले पुन:एकपटक तुषारापात गरिदिएको छ ।

नयाँ वर्षको उपहार स्वरुप मेलम्चीको पानी उपत्यकामा खसाल्ने सपना बाँडेको आयोजनाले समय घर्किदै गरेका बेला निर्माण सम्पन्न हुन अझै ६ महिना कुर्नुपर्ने संकेत गरेको छ । 

त्यसो त आयोजना अन्तर्गत मेलम्ची खोलाको पानीलाई काठमाडौं उपत्यकामा भित्र्याउनका खन्नुपर्ने २७ दशमलव ५८ किलोमिटर मध्ये अब ४ सय १२ मिटर मात्रै खन्न बाँकी छ । तर फिनिसिङ र हेडवक्र्सको कामका साथै सुरङ्गभित्र ढलान लगायत अन्य कामका लागि समय लाग्ने भएकाले पनि काममा ढिलाइ भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त भौगोलिक जटिलताका कारण कामदारको सुरक्षामा सम्झौता गर्ने स्थिती नभएकाले फाष्ट ट्रयाकमा काम गर्न नसकिने बताउनुहुन्छ । हाल दैनिक बढीमा ३ मिटर मात्रै सुरुङ खन्ने काम हुँदैछ । यसअघि दैनिक १७ मिटरसम्म खन्ने गरिएको थियो । पुराना औजार, ठेकेदारको कमजोर कार्यक्षमता, निर्माण सामग्री आयात तथा कमजोर भौगोलिक अवस्थाले लक्ष्यअनुसार काम नभएको उहाँ स्वीकार्नुहुन्छ । 

'मुख्य संरचना बन्न अझै ६ / ७ महिना लाग्ने निर्माण व्यवसायी र परामर्शदाताले जानकारी दिनुभएको छ , उहाँले भन्नुभयो, सुरुङ खनिसकेपछि पानी ल्याउन सकिन्छ भनेको हो , सुरुङ पूरा भए हेडवक्सलाई अस्थायी रुपमा डाइभर्सन गर्ने भन्ने कुुरा छ , किनकी सुरुङ  बनिसकेपछि अस्थायी पाइपलाइनबाट पानी ल्याउन सकिन्छ तर त्यही सुरुङ निर्माण सम्पन्न गर्न पनि अझै ३ महिना लाग्ने देखिन्छ ।' 

सन् २०१३ को सेप्टेम्बरसम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै  सन् २०१२ मा सम्झौता तोडिएको थियो । त्यसयता सुरुङ निर्माणको काम इटालीको सीएमसी कम्पनीले  गरिरहेको  छ । सुरुङको निकै जटिल मानिएको अम्बाथान–ग्याल्थुम खण्ड सम्पन्न भएपनि नरम चट्टान भएकै कारण बाँकी रहेको सुरुङ खन्न बढी समय लाग्ने देखिएको आयोजनाका इन्जिनियरहरु बताउँछन् । 

नरम चट्टान भएको ठाउँमा पानी निस्कने र बलौटे माटोका कारण भासिँने सम्भावना बढी हुने भएकाले पनि कामदारको सुरक्षा खतरा बढ्ने पन्त बताउनुहुन्छ ।  छिटो काम गर्ने भन्दै खतरा मोल्न नसकिने उहाँ बताउनुहुन्छ ।  अर्कोतर्फ आयोजनाको ढिलासुस्तीको फाइदा उठाउँदै ठेकेदारले अनावश्यक बहानाबाजी गर्न थालेका छन् । जसका कारण मेलम्ची आयोजनाका लागि खनिएका उपत्यकाका सडकको मर्मत अलपत्र परेको छ । 

पछिल्लो समय ठेकेदारहरुले चिसोको बहानामा काम गर्न नसक्ने भन्दै उम्किन खोजेपनि नियामक निकाय खानेपानी तथा सरसफाई मन्त्रालयले खासै पहल गर्न सकेको छैन । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवका अनुसार ठेकेदारहरुले चिसो कालोपत्रे गर्दा छिट्टै उप्कने समस्या हुने भन्दै माघ १५ यता काम गर्न नसक्ने बताएका छन् ।

उपत्यकामा धूलो धुवाँले जनस्वाथ्यमा असर परेको गुनासो बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनामा भइरहेको ढिलाईप्रति चासो देखाएको छ । आयोगले यसअघि नै आयोजना र अन्य सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएर काठमाण्डौको धूलो कहिलेसम्म हट्छ भनि  सोधेको थियो ।

आयोगका प्रवक्ता पदम प्रसाद पाण्डेयले भन्नुभयो, 'सडक अस्तव्यस्त भयो, सम्बन्धित निकायबीच समन्वय नभएको जस्तो देखियो किनकी एउटा आज खनेको छ अर्कोले पुरेको छ । पाण्डेयले भन्नुभयो,  एकैपल्ट हुने काममा खानेपानी, सडक र आयोजनाले किन त्यसो गरेको हो भनी हामीले उहाँहरुलाई सोधेका थियौँ उहाँहरुले समन्वय गरी समस्या समाधान उन्मुख हुने प्रतिबद्धता जनाउनुभएको छ ।' 

अहिलेसम्म २३ अर्ब भन्दा बढी खर्च भइसकेको मेलम्चीका लागत २८ अर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ । ४ सय १२ मिटर सुरुङ निर्माणको काम नै बाँकी छ भने अधिकांश फिनिसिङ हुन बाँकी छ । १७ करोड लिटर पानी प्रशोधन बनाउनुपर्नेमा अझै ८ करोडको क्षमताको प्लान्टको हाल परिक्षण भइरहेको भएपनि बनाउन बाँकी अन्य प्लान्टको काम सकिएको छैन ।  यो हिसाबले पनि २०७५ सालको बैशाखमा मेलम्चीको पानी आउने सम्भावना कम छ ।

राष्ट्रिय गौरबको गुरुयोजना अन्तर्गतको मेलम्ची आनेपानी आयोजना उपत्याकाबासीको रहर कम आवश्यकता हो । तर आयोजनामा भइरहेको ढिलाइले उपत्यकाबासी  दैनिक रुपमा आफूले गर्दै नगरेको गल्तीको सजाय स्वरुप धूलो र धुँवाबाट आक्रन्त छन् । 

 

 

प्रकाशित:पुस ३०, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्