तीन दिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने : प्रधानमन्त्री

कैलाली

    पुस ३०, २०७४

     - प्रधानमन्त्री शेर बहादुर देउवाले तीन दिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताउनुभएको छ । कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाई भएको उल्लेख गर्नुभयो । सहमतिका लागि थप समय नखर्चिने भन्दै देउवाले तीन दिनभित्र सरकारले निर्णय गर्ने जानकारी दिनुभयो ।

    सुदूरपश्चिममै पनि विभिन्न स्थानलाई राजधानी बनाउनुपर्ने माग उठेकाले पनि आफूलाई थप समस्या भएको उहाँले उल्लेख गर्नुभयो । अहिले तोकिने प्रदेश राजधानी अस्थायी मात्रै भएकाले पछि सहमतिमा अन्य ठाउँ तोक्न कठिनाई नहुने प्रधानमन्त्री देउवाले बताउनुभयो । 

    उहाँले राष्ट्रियसभा निर्वाचन पछि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने बताउनुभयो । निर्वाचनमा कसैको पनि बहुमत नआएको र संसद गठन नभएकाले संविधानको दायरा र कानूनी दायरा केही नबुझी सत्ता हस्तान्तरणको विषय उठाएर मात्र नहुने उहाँले बताउनुभयो । कानून संगत रुपमा आए आफु एक मिनेट पनि सत्तामा बस्न लालायित नभएको प्रधानमन्त्री देउवाले दोहोर्‍याउनुभयो ।

    प्रधानमन्त्रीको चयन गर्न नसक्ने वाम गठबन्धनले आफुलाई पद नछोडेको आरोप लगाउनु गलत भएको उहाँले बताउनुभयो । गठबन्धनले सहमति गरेर प्रधामन्त्री दिन नसकेपछि देश प्रधानमन्त्री बिहीन नहोस् भनेर मात्रै आफू कुर्सीमा आसिन भएको उहाँको दावी थियो । 

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्