संखुवासभामा जिप दुर्घटना, गाउँपालिका अध्यक्ष सहित ५ को मृत्यु

- दीपेन्द्र शाक्य, संखुवासभा
    दुर्घटनाका मृतहरुमध्ये अध्यक्ष कटुवाल र पाथीभरा हेदांनाका सुरेश राईको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

    पुस ३०, २०७४

     -  संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ५ जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभान जाँदै गरेको जिप सामाटारमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।

    दुर्घटनाका मृतहरुमध्ये अध्यक्ष कटुवाल र पाथीभरा हेदांनाका सुरेश राईको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जिप भोटखोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो ।

    घटनास्थलबाट अन्य ३ जनाको शव झिकिए पनि पहिचान हुन सकेको छैन । भीरमा अझै शव भएको अनुमान गरिएको छ । स्थानीय विकास मन्त्रालय अन्तरगत केन्द्रीय आयोजना कार्यान्वयन ईकाईको जिप रहेको प्रजिअ जोशीले बताउनुभयो ।

    जिपमा समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनियर सुदीप ढकाल र चालक पनि सवार थिए । भूकम्प पुनर्निर्माण सम्बन्धी तालिम दिन उनीहरु काठमाण्डौबाट जिप लिएर संखुवासभा आएको प्रजिअ जोशीलाई उद्देत गर्दै सहकर्मी दीपेन्द्र शाक्यले जनाएका छन् । 

    दुर्घटना आज १२ बजे भएको थियो । घटनास्थल सदरमुकाम खाँबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सो सडक खण्डमा करीब २ महिना अघि मात्र ट्याक खोलिएको थियो । 

     

    प्रकाशित:पुस ३०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्