एक वर्ष मुनिका बच्चालाई चिसो मौसम जोखिमपूर्ण

- कमला गुरुङ, काठमाडौं
  • चिकित्सक भन्छन्, ‘अभिभावकले अन्जानवश गर्ने कार्यबाट थप समस्या निम्तन सक्छ’

पुस ३०, २०७४ -  चिसोले बालबालिकालाई बढी असर गर्छ । यो समयमा बालबालिकामा निमोनिया, भाइरल ज्वरो, रुघाखोकीको समस्या देखापर्ने सम्भावना हुन्छ । विशेष गरी एक वर्ष मुनिका बच्चाहरुमा यो समस्या बढी देखिने गरेको चिकित्सक बताउँछन् । नाबालकमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले विशेष हेरचाह गर्न अभिभावकलाई चिकित्सकको सुझाव छ । 

निमोनिया र भाइरल ज्वरोको समस्या 

निमोनिया, रुघाखोकी लगायत श्वासप्रश्वास सम्बन्धी संक्रमणबाट मुलुकका २ प्रतिशत बालबालिका ग्रसित छन् । बालरोग विशेषज्ञ डा. सुनिल मानन्धर चिसो मौसम विशेष गरी एक वर्ष मुनिका बच्चाका लागि जोखिमपूर्ण हुने बताउनुहुन्छ । 

“एक वर्ष वा सो भन्दा मुनिका बच्चाहरुमा यो धेरै समस्या छ”, डा. मानन्धरले भन्नुभयो, “चिसोले गर्दा फोक्सोको नलीहरु खुम्चिने डर हुन्छ । त्यसले गर्दा घ्यार घ्यार हुने, दुध नचुस्ने र पछि संक्रमण समेत हुन्छ । त्यसपछि उसलाई निमोनिया हुन्छ अनि ज्वरो पनि आउँछ ।” यस्तो अवस्थामा स्वास फेर्न गाह्रो भई मृत्यु समेत हुन सक्ने डा. मानन्धरले बताउनुभयो । 

अभिभावकले अन्जानवश गर्ने कार्यबाट थप समस्या 

एक वर्ष मुनिका नाबालकमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोले उनीहरुलाई छिट्टै असर गर्ने चिकित्सकहरु बताउँछन् । अभिभावकले अन्जानवश गर्ने कतिपय कार्यले पनि चिसो मौसममा बालबालिकाहरुमा थप समस्या निम्तन सक्छ । 

डा. मानन्धर भन्नुहुन्छ, “प्राय हाम्रो गाउँ–घरमा देख्छु, अधिकांश बच्चाहरुको शरीरको माथिल्लो भागमा भोटो हुन्छ तर तल दिसापिसाब गरिरहन्छ अनि फोहोर गर्छ भनेर भने केही पनि लगाएको हुँदैन । जुन एकदमै गलत हो ।” चिसो मौसममा कम्मरमाथि बाक्लो कपडा लगाइदिन्छौ, त्यति नै बाक्लो सुरुवाल लगाई दिनुपर्ने उहाँको सुझाव छ । उहाँ थप्नुहुन्छ, “जानेर भनौ या नजानेर भनौ, बच्चाहरुले हामीले जस्तो छिटो–छिटो त खान सक्दैन तर अभिभावकले त्यही खाना एक घण्टा लगाएर पनि खुवाई रहेको हुन्छ, जुन एकदमै गलत हो ।” यस्तोमा अभिभावकले विशेष ध्यान दिई खाना चिसो भएपछि १५/२० मिनेटमा फेरी तताएर खाना खुवाउनुपर्ने हुन्छ । 

चिसोबाट बचाउने उपाय

चिसोका कारण निमोनिया, रुघाखोकी ज्वरो जस्ता समस्या तत्काल देखापरेपनि उचित हेरचाह नगरे दीर्घकालमा यसले फोक्सोमा असर गर्न सक्छ । यो समयमा बालबालिकालाई कोठाभित्रै न्यानो पारेर राख्न तथा तातो झोलिलो पदार्थ खुवाउन डा. मानन्धरको सुझाव छ । 

के गर्ने ?

– बच्चालाई न्यानो बनाएर राख्ने 

– सकभर कोठाभित्रै राख्ने 

– आमाले आफ्नो छातीमा टाँसेर राख्ने 

– बिहानको समयमा घाममा राख्ने । दिउँसो हावा चल्ने समयमा बच्चालाई कोठामै राख्ने ।  

– तातो झोलिलो कुरा खुवाउने

– चिसो खानेकुरा नखुवाउने/ खानेकुरा तताएर मात्र खुवाउने

– बिहान र साँझको समयमा बच्चालाई कोठा बाहिर नलैजाने 

– घ्यार–घ्यार गर्‍यो, ज्वरो आयो या दुध चुस्न सकेन भने नजिकैको स्वास्थ्य संस्थामा लैजाने 

यी उपायहरु अपनाउन सके बालबालिकालाई चिसोबाट जोगाउन सकिने डा. मानन्धर बताउनुहुन्छ । चिसोले श्वासप्रश्वासको समस्या मात्र नभई अन्य रोगको जोखिम पनि बढाउँछ । उचित हेरचाहको आवश्यकता पर्ने बालबालिकालाई चिसो मौसमबाट बचाउन अभिभावक निकै चनाखो हुनु आवश्यक छ । किनभने यो समयमा उनीहरुलाई विशेष हेरचाह नगरे रोगहरु लामो समयसम्म पाल्नुपर्ने तथा मृत्यु समेत हुने खतरा उत्तिकै रहन्छ । 

प्रकाशित:पुस ३०, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्