७० प्रतिशत सीमा स्तम्भ जीर्ण

- पवन यादव, रौतहट

    माघ ३, २०७४

     -  नेपाल भारतको सिमाना छुट्याउन गाडिएको ७० प्रतिशत बढी सीमा स्तम्भ जीर्ण भई काम नलाग्ने अवस्थामा पुगेको छ । सीमा स्तम्भको अवस्था अवलोन गर्न खटिएका दुवै देशका संयुक्त प्रविधिकको टोलीले अनुगमन निरीक्षणको क्रममा यस्तो भेटाएको हो ।

    दशगजालाई खेतमा परिणत गर्ने क्रममा स्थानीय किसानले फुटाएर, दशगजालाई सडको रुपमा प्रयोग गरी कुदाईएको सवारीको ठक्कर लगायतका कारणबाट सीमा स्तम्भको अवस्था यस्तो हुन पुगेको प्राविधिक टोलीको ठम्याई छ । अनुगमनका क्रममा भेटिएका मध्ये ७० प्रतिशत बढी सीमा स्तम्भ जीर्ण अवस्थामा पुगेको भारतीय सर्वेक्षण विभाग उत्तराखण्ड देहरादुनका सर्वेयर धनसिंह असवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मझौला तथा साना (माईनर) सीमा स्तम्भ ड्यामेज भएका छन्, ‘ती सीमा स्तम्भलाई फेर्नै पर्छ ।’ जीर्ण अवस्थामा पुगेका सीमा स्तम्भ फेरिने उहाँले बताउनुभयो । ती स्थानमा ३ पाटे नयाँ सीमा स्तम्भ गाडिने उहाँले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार दशगजामा गाडिएको मझौला तथा साना सीमा स्तम्भ बढी जीर्ण भएका हुन् । ठुला अर्थात जंगे पिलरको अवस्था राम्रो रहेको पाईयो । खोला नाला, नदीमा बेलाबेला आएको बाढीले गरेको कटानको कारण केही सीमा स्तम्भ हराएको अवस्था रहेको उहाँले बताउनुभयो । 

    नेपाल र भारत दुवै देशका किसानले दशगजा क्षेत्र मिचेर खेतमा परिणत गरेको निरीक्षणको क्रममा फेला परेको जनाएको छ । नेपाली पक्ष भन्दा बढी भारतीय पक्षबाट बढी दशगजा अतिक्रमण भएको पाईएको नापी विभाग काठमाण्डौंका नासु (सर्वेयर) राहुल कुमार मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘धेरै स्थानमा दशगजा खेतमा परिणत भएको छ, ‘धेरै स्थानमा दशगजामै बस्ती बसेको पाईयो, थुप्रै स्थानमा दशगजमै सडक बनाईएको छ ।’

    २ दिन सम्म रौतहटमा चलेको सीमा स्तम्भ निरीक्षण तथा प्राविधिक चेकजाँचको भारतीय सशस्त्र सीमा बल (एसएसबी), सशस्त्र प्रहरी बल नेपालले संयुक्त सीमा गस्ती समेत गरेको थियो । 

    भारतको सितामढी र पूर्वी चम्पारण सम्म जिल्लाको ब्रम्हपुरी देखि बुंकुल सम्म भारतीय सिमानासंग जोडिएको सीमाको लम्बाई (दुरी) ३२ किलोमिटर रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक प्रेमराज पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीले जिम्मा लिए देखि सीमा स्तम्भ राम्रो रहेको छ, ‘सीमा स्तम्भ सुरक्षित भएका छ ।’ 

    नेपाल र भारत तर्फका सीमा सुरक्षा बलले सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने, मासिक रुपमा सीमा स्तम्भको अवस्था अपडेट गर्ने कार्य नियमित रुपमा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । 

    उहाँका अनुसार रौतहट र भारतीय सीमा छुट्याउन साना ठुला गरी १ सय ६२ वटा सीमा स्तथम्भ छन् । जसमध्ये ३ ठुला, २९ मझौला र १ सय १८ वटा साना सीमा स्तम्भ पर्दछन । 

    नेपाल नापी विभागको तथ्याङक अनुसार भारत र रौतहटको सीमामा गाडिएको सीमा स्तम्भ मध्ये १७ वटा स्तम्भ हराएको छ । जिल्लाको ब्रम्हपुरी र महादेवपट्टीको बीचमा पर्ने ३४४/७ नम्बर सीमा स्तम्भ हराएको अधिकारीले बताउनुभयो । ब्रम्हपुरीस्थित बागमती नदी, महादेवपट्टीस्थित लालबैया नदीमा समेत पिलर हराएको अधिकारीले बताउनुभयो । प्राविधिक चेकजाँच पछि सीमा स्तम्भको अवस्था झल्किने गरी प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा पेस गरिने सर्वेयर टोलीले जनाएको छ ।

      

    नेपाल भारतको सीमा क्षेत्रमा रहेका स्तम्भहरुको अवस्थाबारे दुवै देशका प्राविधिक टोली मंंगलबार देखि संयुक्त रुपमा रौतहटको पूर्वी सिमा देखि निरीक्षण अध्ययन सुरु गरेका थिए । सेप्टेम्बर १३–१५ तारेखमा भारतको देहरादुनमा सम्पन्न भएको सर्भे आफिसियलस कमिटी (एसओसि) को सातौ बैठकमा तय गरेको कार्यक्रम अनुसार सन् २०१७/२०१८ को नेपाल भारत सीमा सम्बन्धि संयुक्त फिल्ड कार्यका लागि दुवै देशका सर्वेयर सम्मिलित ४/४ वटा संयुक्त टोली भारतीय सिमासंग जोडिएका नेपालका २६ जिल्लामा गत मंसिर ४ गते खटिएका छन् ।

    यस अघि सन २००६ मा सिमा स्तम्भ अनुगमन निरीक्षण कार्य संयुक्त रुपमा भएको थियो । लामो समयको अन्तराल पछि सीमा स्तम्भ निरीक्षण गरिएको जानकारहरु बताउंछन् । भारत र नेपालको सीमा छुट्याईएको दशगजामा कुल ९ सय २७ वटा ठुला अर्थात जंगे पिलर रहेको छ ।

    प्रकाशित:माघ ३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्