‘फिर्के’ फिल्मका कलाकार मैदानमा

- शब्द तस्बिर: आश गुरुङ , दुबारगाउँ (लमजुङ)

    माघ ६, २०७४

     -  लमजुङको दोर्दी गाउँपालिका ८, दुबारगाउँको खेल मैदानमा नेपाली फिल्मसंग आवद्ध तथा चर्चित कलारकारले फुटबल खेलेका छन् । पारेदेवी युवा क्लबले आयोजना गरेको आठौं पारेदेवी कप फुटबल प्रतियोगितामा ‘फिर्के’ फिल्ममा आवद्ध कलाकारसहित अन्य कलाकारले रमाइलो गरी फुटबल खेले । ‘फिर्के’ फिल्मको टि–सर्ट लगाएर उनीहरुले शनिबार आयोजक पारेदेवी युवा क्लबसंग फुटबल खेले ।

    कलाकार सुलेमाने शंकर (इकु), सलोन बस्नेत, आवेष भण्डारी, आमष कार्की, रवि डंगोल (बेइमान), उत्तम केसी (चुइँचुइँ पारेर), जयकिसन बस्नेत, करिष्मा श्रेष्ठ, एलिसा रायमाझी, उमा कार्की, हाँस्य कलाकार गणेश राई, जीवन राई लगायतले फुटबल खेले । फिल्म निर्देशक सोवित बस्नेतले खेल अवधिभर उद्घोषण गरे । 

    फिर्के फिल्मका निर्माता एवं पारेदेवी युवा क्लबका अध्यक्ष ओमलाल गुरुङले फिर्के फिल्मलाई खेलकुदको माध्ययमबाट प्रचारप्रसारको लागि कलाकारलाई गाउँमा निमन्त्रणा गरी फुटबल खेलाइएको बताए । उनले यसअघि निर्माण गरेको फिल्म ‘लक्ष्य’ को प्रचारप्रसारको लागि पनि २ वर्षअघि कलाकार ल्याएर फुटबल खेलाएको थिए । ‘खेलको माध्ययमबाट फिल्मको प्रचारप्रसार गर्ने उद्देश्य हो’ उनले भने । दुबारस्थित इलाभेन साइडको उक्त फुटबल खेलमैदान गुरुङको एकल लगानीमा ८ वर्षअघि निर्माण गरिएको थियो ।

    २ वर्षअघि उक्त खेल मैदानमा फुटबल खेलेका ‘फिर्के’ फिल्मका मुख्य कलाकार सुलेमान शंकरले फुटबल खेल मार्फत फिल्मको प्रचारप्रसार गर्न खोजिएको बताए । ‘फिर्के फिल्मलाई कतार, दुबई, ओमन, बहराइन साथै युरोप, अष्ट्रेलिया लगायत देशमा लाने हाम्रो तयारी छ’ उनले भने, ‘हामी यसको प्रचारप्रसारमा छौं । प्रचारप्रसारकै क्रममा लमजुङ आएर फुटबल खेल्यौं । रमाइलो भयो ।’

    करीब ३० मिनेट समयको फुटवल खेलमा आयोजकले ४ गोल र कलाकारको तर्फबाट सलोन बस्नेत र आवेष भण्डारीले २/२ गोल गरी बराबरीमा खेल टुंग्याए । निवर्तमान सांसद जमीन्द्रमान घलेले खेलकुदमा पनि फुटबल सबैका लागि सहज खेल भएको बताए । ‘एउटा गाउँको कुनामा आएर कलाकारले फुटवल खेल्नु आफैंमा गर्वको कुरा हो’ उनले भने, ‘जिल्लाको खेलकुद, पर्यटन, प्रचारप्रसारमा यसले सहयोग पुग्नेछ ।’  

     

    प्रकाशित:माघ ६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्