प्रदेशमाथिको भागबण्डा वाम गठबन्धनले भोलि टुंग्याउने

काठमाडौं

    माघ ६, २०७४

     -  वाम गठबन्धनले प्रदेश सरकार, मुख्यमन्त्री, सभामुख लगायतको भागबण्डा भोलि बस्ने एकता संयोजन समितिको बैठकबाट लगाउने भएका छन् । संयोजन समितिको बैठक भोलि अपराह्न तीन बजेका लागि बोलाईएको छ ।   

    एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफलमा संयोजन समतितिको बैठकबाटै प्रदेश सरकार गठनका साथै मुख्यमन्त्री, सभामुख, उपसभामुख लगायत माथिको भागबण्डा मिलाउने समझदारी भएको हो । भक्तपुरको बालकोट स्थित अध्यक्ष ओली निवासमा भएको दुई अध्यक्षको छलफलले भोलि बस्ने एकता संयोजन समितका लागि एजेन्डा तय गरेको दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाड, प्रदेश सरकार गठन, प्रदेशका मुख्य पदमा दुई पार्टीको भागबन्डा र पार्टी एकताका विषय छन् । यसअघि हिजो भएको दुई नेताबीचको बैठकले दुवै दलका नेता सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको थियो । राष्ट्रिय सभाको ५६ मध्ये ४३ सिटमा मात्र उम्मेदवारी दिने कार्यदलको प्रस्ताव अनुमोदन गर्दै दुई शीर्ष नेताले एमालेले ६७ र माओवादीले ३३ प्रतिशत सिटमा उम्मेदवारी दिने समझदारी गरेका थिए । यद्यपि, सो सहमतिलाई भोलि बस्ने संयोजन समिति बैठकले अन्तिम रुप दिनेछ ।

    प्रदेश सरकार र प्रदेशसभाका मुख्य पदमा कुन दलले कति सिट पाउने भन्नेमा दुई दलबीच सहमति हुन सकेको छैन । राष्ट्रिय सभा निर्वाचन अघि नै पार्टी एकता गर्ने गरी तयारी तीव्र पारिएको नेताहरुले बताएका छन् । 

     

    प्रकाशित:माघ ६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्