समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग

- प्रदीप मेन्याङ्बो, धरान
  • सुनसरीमा २३ सय यौनिक अल्पसंख्यक, धरानमा ६११ समलिंगी तेस्रोलिंगी

माघ ६, २०७४

 -  समलिङ्गी–तेश्रो लिङ्गीहरुले सरकारले समलिङ्गी विवाहलाई वैधानिक मान्यता दिनु पर्ने माग गरेका छन् । उनीहरुले जसरी विपरित पुरुष र महिलाबीच विवाहलाई राज्यको कानून र समाजले मान्यता दिन्छ त्यसरी नै समलिङ्गी विवालाई वैधानिकता दिनु पर्ने माग गरे ।

यौनिक अल्पसंख्यकको अधिकारबारे धरानमा निलहिरा समाजले शनिबार आयोजना गरेको अन्तक्रियामा तेस्रोलिंगी सुमन तामाङले शारीरिक रुपले आफू स्त्रीलिङ्गको रुपमा हुर्किए पनि वयस्क अवस्था आइपुग्दा छोरी भएको कहिले पनि भावना नआएको बताए । मुलुक संघीयतामा प्रवेश भइसकेको अवस्थामा संघीय सरकार र स्थानीय सरकारले आफुहरुका मागलाई सम्बोधन गर्नु पर्ने, स्थानीय तहबाटै बजेट विनियोजन हुनुपर्ने बताएको छ । तामाङ्ले भने, ‘सबैलाई संबोधन गर्ने राज्यले हामीलाई किन संबोधन गर्दैन । हामीले बुझ्न सकेका छैनौं ।’

उनले संविधान र कानूनका नजरमा पनि अरुभन्दा केही पछि परेको बताए । नागरिकता र राहदानीको अधिकार प्राप्त भएपनि आर्थिक, सामाजिक, सांस्कृतिक, राजनितिक, अधिकारसंगै स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा अझै धेरै अधिकार प्राप्त गर्न बाँकी रहेको बताए । उनले भने, ‘सरकारले समलिंगी विवाहलाई मान्यता नदिदा हजारौं समलिङ्गी जोडीहरु विवाह दर्ता गर्न नपाएर लुकी लुकी बस्न बाध्य भएका छन् । समलिङ्गी, तेश्रोलिङ्गीहरु पनि यसै मुलुकको शारिरिक, मानसिक र बौद्धिक रुपले सक्षम नागरिक भएकाले व्यक्तिको मौलिक अधिकारबाट बंचित गरेर अन्याय गरेको छ ।’  

तेस्रोलिंगीहरुका लागि अधिकारकर्मी रवी श्रेष्ठले पुरुष र महिलालले जस्तै आफुहरुले पनि विवाह गर्न पाउनु पर्ने कानून बन्नुपर्ने बताए । उनले समलिङ्गीहरुलाई घरपरिवार हुँदै समाज, प्रसासन देखि राज्यले समेत चरम विभेद गर्दै आएका बताए । उनले भने, ‘विभेद र लान्छनाबाट हामी कहिले मुक्त हुन्छौं त्यो दिन पर्खिरहेका छौं ।’

समलिङ्गी तेश्रोलिङ्गीलाई एलजीविटी पनि भनिन्छ । महिलाप्रति आकर्षित हुने महिलालाई लेस्वियन, पुरुषप्रति पुरुष आकर्षित हुनेलाई गे, महिला पुरुषसंग समान रुपमा आकर्षित हुने वाइ सेक्सुअल र पुरुष वा महिला भएर जन्मे पनि विज्ञान प्रविधिको सहयोगमा लिङ्ग परिवर्तन गरी पुरुष वा महिला हुने र लिङ्ग पुरुष भएपनि महिलाको गतिविधि प्रदर्शन गर्ने र लिङ्ग महिला भएपनि पुरुष जस्तै बन्न चाहनेलार्य ट्रान्स जेन्डर भन्ने गरिन्छ । 

चार दशक अघिसम्म समलिङ्गी तेश्रोलिङ्गीलाई पूर्वजन्मको पाप वा असामान्य मनोरोग अन्तर्गतको यौन विचलनको रुपमा परिभाषित गरिएको थियो । तर पछिल्लो समय विभिन्न वैज्ञानिक खोज अनुन्धानले यौन विचलन र मनोरोगी नभएर मानिसभित्र हुने हर्मनको गडबढीले समलिङ्गी तेश्रोलिङ्गी हुने तथ्य सार्वजनिक भएको छ । 

निलहिरा समाजका संयोजक विनोद वाग्लेले अन्य नागरिक सरह समलिङ्गी तेश्रोलिङ्गीहरुलाई पनि राज्यले समान दृष्टिकोणले हेरिनुपर्ने बताए । समाज, परिवार र राज्यको विभेदका कारण नेपालमा हजारौं समलिङ्गीहरु जीवन निर्वाह गर्न यौनधन्दामा लाग्न बाध्य भएको वाग्लेले बताए । उनका अनुसार सुनसरीमा दुई हजारभन्दा धेरै यौनिक तथा लैगिंक अल्पसंख्यक रहेका छन् ।

समाजमा विभेदको सिकार हुँदा हुँदैपनि आफ्नो पहिचान खुलाएर आउने यौनिक तथा लैगिक अल्पंख्यकको संख्या २ हजार ३ सय ७३ रहेको निल हीरा समाज शाखा कार्यालय धरानले जनाएको छ । जसमध्ये समलिंगी २ हजार १०४, तेस्रोलिंगी १०१ र यौनकर्मी १६८ रहेको समाजले जनाएको छ । तीमध्ये धरानमा समलिंगी ५ सय ५४ जना र  तेस्रोलिंगी २९ जना रहेका छन् । 

उनीहरुले वैधानिक रुपमा कुनै सरकारी वा निजी कम्पनीमा वैधानिक रुपमा रोजगारी नपाउने भएकाले २८ जनाले यौन व्यबसाय गरेर जीवन धानीरहेको वाग्लेले बताए । इटहरीमा समलिंगीको संख्या १ हजार ५ सय ५०, तेस्रोलिंगी ७२ जना र यौन व्यवसाय गरेर जिविका चलाउनेहरु १ सय ४० जना रहेका छन् । तीमध्ये ८ जना एचआईभी संक्रमित रहेको तेस्रोलिंगी अधिकारकर्मी रवी श्रेष्ठले बताए । उनले भने, ‘यो संख्या खुलेर आउनेको भए पनि यो भन्दा ठूलो संख्या खुलेर नआउनेहरुको छ । जो हाम्रै समाजमा पहिचान लुकाएर बसेका छन् । परिवार र समाजले नै समलिंगी तेस्रोलिंगी भनेर विभेद गर्ने भएकाले धेरै खुल्दैनन ।

यदी परिवार र समाजले समलिंगी तेस्रोलिंगीलाई पनि समान व्यवहार र अधिकार प्रदान गर्ने हो भने धेरै व्यक्ति खुलेर आउने छन् । हामी त्यसको पखाईमा छौं ।’ उनले सञ्चार क्षेत्रले सहयोग गरे थप अधिकार चाडै प्राप्त गर्न सकिने भएकाले समलिङ्गी समुदायको बारेमा पनि लेखिदिए राज्यको ध्यानाकर्ष हुनेमा आफुहरु विस्वस्त रहेको बताए ।

प्रकाशित:माघ ६, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्