जुम्ला डायरी

- एलपी देवकोटा , जुम्ला

    माघ २४, २०७४

    जुम्लाका स्याउ किसान आफ्नो बगैंचा व्यवस्थापनमा व्यस्त छन् । पुष पहिलो साता देखि बिरुवा व्यवस्थापन गर्नुपर्ने भएपनि लामो समय सम्म पानी र हिउँ नपरेकाले किसानहरुले समयमै बिरुवा व्यवस्थापन गर्न सकेका थिएनन् । हिउँ नपरेपछि ढिलै भएपनि यो समयमा जुम्लाका सबै किसानहरु स्याउका बिरुवा काँटछाँटमा व्यस्त छन् ।

    कर्णाली राजमार्ग निर्माण भएपछि स्याउ खरिद गर्न व्यापारीहरु बगैंचामै पुग्ने गरेपछि कृषकहरु उत्साहित भएर बगैंचा व्यवस्थापनमा लागेको स्थानीय कृषक देउऋषि चौलागाईले बताउनुभयो । राजमार्ग संचालनमा आउनु अघि प्रति केजि ५ रुपैयाँमा समेत यहाँको स्याउ बिक्री हुन मुस्किल हुने गरेको थियो भने अहिले सिजनमै प्रतिकेजी ६० रुपैयाँ देखि माथि बिक्री हुने गरेको छ । स्याउका बिरुवा कटानी छटानी गर्दा नयाँ पालुवा पलाउँदा फूल लाग्ने भएकाले किसान बगैँचा व्यवस्थापनमा लागेका हुन् । जिल्ला कृषि विकास कार्यालयले कृषि प्रसार कार्यक्रम, स्याउ आत्मभिर्नर कार्यक्रम र कर्णाली अञ्चल कृषि विकास कार्यक्रम अन्तर्गत स्याउ कांटछांट अभियाननै चलाएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कंडेलले बताउनुभयो । स्याउका बिरुवा काटछांट गर्ने, बोडो पेस्ट लगाउने, बोडो मिश्रण छर्ने देखि मलखादको व्यवस्थापनमा गर्दा गुणस्तरीय फल उत्पादन हुनुका साथै रोग, कीरा नियन्त्रण हुने र बिरुवा स्वस्थ्य भई दिगो रुपमा फल्न सक्ने कृषि कार्यालयले जनाएको छ 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कालिकोटमा विशेषज्ञ सेवा विस्तार गरेको छ । शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाको संयोजकत्वमा ७ जना विशेषज्ञ चिकित्सकको टोलीले कालिकोटमा नि:शुल्क विशेषज्ञ सेवा शिविर संचालन गरेको छ । शान्तित्रिवेणी गाउँपालिका १ र २ वडाका मात्रै एक हजार ६ सय ७६ जना बिरामीको नि:शुल्क उपचार गरेको शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताउनुभयो । प्रतिष्ठानले छिट्टै ६ नं. प्रदेशका सबै जिल्लाहरुमा विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले महिनामा २ पटक कालिकोट जिल्लाका विभिन्न गाउँहरुमा शिविर मार्फत विशेषज्ञ सेवा दिइरहेका छौं ।’ विशेषज्ञ चिकित्सकहरु स्थानीयको घरदैलोमै पुगेर हाडजोर्नी, बाल रोग, स्त्री रोग, भिडियो एक्सरे, दिसा, पिसाब जाँच, नाक, कान, घाटी, आङ्ग खस्ने समस्या लगायतका विशेषज्ञ सेवाहरु शिविर मार्फत दिइरहेको प्रतिष्ठानले जनाएको छ । कर्णालीमा आङ्ग खस्ने समस्या धेरै भएकाले नि:शुल्क शिविरमा उपचार गराउन आएका आङ्ग खसेका महिलाहरुलाई शिक्षण अस्पतालमा पठाएर नि:शुल्क उपचार गर्ने व्यवस्था समेत शिक्षण अस्पतालले गरेको छ । 

    कृषि अनुसन्धान केन्द्र राजिकोटलाई चुनौती दिंदै चन्दननाथ– १० गैरागांका स्थानीय कृषक शंकु खत्री ओखरका विरुवामा अनुसन्धान गरिरहेका छन् । नयाँ प्रविधि मार्फत ओखर रोप्ने सीपको प्रयोग गरिरहेका छन् । ओखरको साइन (टुसा) पुरानो वा अर्को बिरुवाको जरामा ग्राफ्टिङ गर्न सफल भएका छन् । कृषि अनुसन्धान केन्द्र राजिकोटले टिंग ग्राफ्टिङ (खरु बिरुवामा ओखर जोड्ने) विधि गर्दै आइरहेको छ । तर यो विधि अनुसरा धेरै सफल हुन सकेका छैन । किसान खत्रीले आफ्नै घरमा ल्याब बनाई ४ वटा विधिबाट ग्राफ्टिङ सफल बनाएका छन् । क्लीप ग्राफ्टिङ, साइड ग्राफ्टिङ, अर्धसाइड ग्राफ्टिङ र टिंग ग्राफ्टिङ गरी ओखर फलाइरहेको किसान शंकु खत्रीले बताउनुभयो । जुम्लामा ३३ जातको ओखर फल्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष मात्रै कृषक खत्रीले ७ सय बटा बिरुवाको साइन उत्पादन गरी ६ सय वटा बिक्री गरिसकेकाछन् । 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई स्थानीयले जग्गा दान गरेका छन् । प्रतिष्ठानको मेडिकल कलेज स्थापनासंगै भवन निर्माणको लागि नि:शुल्क जग्गा दान गरेका हुन् । मेडिकल कलेज स्थापना पछि दक्ष जनशक्ति उत्पादन हुने र त्यहि जनशक्तिले कर्णालीका बिरामीलाई उपचार सेवा दिने आशामा स्थानीयले जग्गा दाताले गरेका हुन्  । प्रतिष्ठानले एम.बी.बी.एस डाक्टर पढाइका लाग मेडिकल ब्लक निर्माणका लागि चन्दननाथ ३ चेरे चौरको जग्गा छनौट गरेको थियो । प्रतिष्ठानलाई मेडिकल ब्लकका लागि आवश्यक पर्ने ५ सय रोपनी जग्गा चेरे चौर, नर्सिङ्ग र ल्यापको लागि ५ सय रोपनी गुठिचौर गाउँपालिकाको धितालिही चौर र आवासका लागि ३ सय रोपनी चन्दननाथ ४ मालाभिड गरी एक हजार तीन सय रोपनी जग्गा लिने प्रतिष्ठानको सभा परिषदले निर्णय गरेको थियो । 

     

    प्रकाशित:माघ २४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्