बसपार्क निर्माण योजना अपलत्र

- काशीराम डाँगी, रोल्पा

    फाल्गुन २, २०७४

    रोल्पाको रोल्पा नगरपालिका अन्तर्गतको रेउघामा एक दशकअघि निर्माण थालिएको बस पार्क अझैसम्म सञ्चालनमा आउन सकेको छैन । जग्गा मुद्दामा विवाद भएपछि रोकिएको  निर्माण कार्य पूरा नहुँदा बसपार्क सञ्चालनमा ढिलाई भएको हो । आधुनिक बसपार्क निर्माण गर्न जग्गा खरिद गर्दा विवाद भएको थियो । तत्कालीन जिल्ला विकास समिति, लिबाङ गाउँ विकास समिति र स्थानीय जग्गा धनीबीच विवाद बढेपछि अदालतसम्मै पुग्नु परेको थियो ।

    लामो समय त्यसै विवादमा अल्झनु परेपछि बसपार्क निर्माण कार्य पछि धकेलिएको हो । अदालतमा मुद्दा मार्फत विवाद किनारा लागेपनि बसपार्क निर्माण योजना भने अझ पनि अपलत्रै छ । जग्गा विवादसँग सम्बन्धित मध्ये एक जना लिबाङ गाविसका पूर्व उपाध्यक्ष खड्गबहादुर सिंह ठकुरीले विवाद मिलेकाले अब बसपार्क बनाउन कसैबाट अवरोध नहुने बताउनुभयो । उहाँका अनुसार बसपार्क पुग्न चाहिने सडकका लागि स्थानीयले नि:शुल्क जग्गा समेत प्रदान गरिसकेका छन् । 

    अत्याधुनिक सुविधायुक्त बसपार्क निर्माण गर्ने योजना अघि सारिएको छ । तत्कालीन जिल्ला विकास समिति रोल्पाको अगुवाईमा सदरमुकामभित्रै पर्ने रेउघामा बसपार्क निर्माण गर्दा करीब ३७ लाख भन्दा बढी लगानी भइसकेको छ । केही खरिद गरिएको तथा केही स्थानीयले नि:शुल्क उपलब्ध गराएको करीब ३३ रोपनी जमिनमा बसपार्क निर्माण योजना थालिएको हो । हाल रोल्पा नगरपालिकाले सो योजनाको नेतृत्व गरिरहेको छ । नगर प्रमुख पूर्ण केसीले जग्गाको विवाद मिलेपछि भवन तथा सहकारी डिभिजन कार्यालयले भौतिक संरचना निर्माण गर्ने योजना बनाएको बताउनुभयो । उहाँका अनुसार सो कार्यालयले आवश्यक पूर्वाधार निर्माण गर्न योजना थालिसकेको छ । 

    सुरुमा सो बसपार्क निर्माण गर्दा यातायात व्यवसायी समितिले सहमति जनाउन नसक्दा विवाद उत्पन्न भएको थियो । सरकारले बसपार्क निर्माणका लागि लगानी गर्ने निश्चित भएपनि व्यवसायीले भने भिन्नै स्थानमा सानो खालको बसपार्क निर्माण गरेका थिए । आफ्नै लगानीमा रोल्पास्थित जलजला यातायात व्यवसायी समितिले निर्माण गरेको सो बसपार्क अहिले सञ्चालनमा रहेको छ । समितिको पहलमा करीब ३१ लाख लगानी गरेर लिबाङकै सोलाबाङमा बस पार्क निर्माण गरेका हुन् । बसपार्क करीब दशक अघि निर्माण गरिएको थियो । व्यवसायी आफ्नै र सरकारी गरी रोल्पामा दुई वटा बसपार्क निर्माण गर्दा करीब ७० लाख भन्दा बढी बजेट खर्च भइसकेको छ । तर एउटै बसपार्क पनि पूर्ण रुपमा निर्माण भइसकेको छैन । रोल्पा नगरपालिकाले टुंडिखेललाई ग्रीन पार्क बनाउने योजना थाल्नुअघि टुंडिखेलमै पार्क गरिएका यातायातका साधन अचेल साँधुरा सडकमै पार्क गरिएका छन् । 

    बसपार्क निर्माण रेउघामै उचित

    व्यवसायीले लिबाङ बजारबाट टाढा जान अटेर गरेपनि भौगोलिक रुपमा भने रेउघामै निर्माण गर्नु उचित हुने जनप्रतिनिधिहरु बताउँछन् । ‘रेउघामा बस पार्क बनाउन उचित हुने ठानेर हामीले नगर परिषदबाट सो योजना पारित गरेका छौं, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भन्नुभयो, ‘रेउघामा बसपार्क र अन्य संरचना बनाउन प्रशस्त भौगोलिक सुविधा छ । 

    व्यवसायीले लिबाङको सोलाबाङमै रहेको ‘मिनी बसपार्क’ प्रयोगमै आएकाले रेउघा जाने सोचाई बनाइनसकेको उहाँले बताउनुभयो । व्यवसायीको समिति जलजला यातायात समितिले सोलाबाङमा आफ्नै खर्चमा बस पार्क निर्माण गरेकोले पनि रेउघा जान अटेर गरेको हो । सोलाबाङ बसपार्क साँघुरो छ । हाल समितिले सोलाबाङमा बसपार्क प्रयोगमा ल्याएको छ भने दुई जना सुरक्षा गार्ड खटाएर सुरक्षा प्रदान गरेको छ । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्