रामेछाप पूर्ण खोपयुक्त जिल्ला घोषणा

- टीकाप्रसाद भट्ट, रामेछाप

    फाल्गुन २, २०७४

    रामेछाप जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरीएको छ । बुधबार रामेछापमा आयोजित कार्यक्रममा रामेछापका सांसद श्यामकुमार श्रेष्ठले जिल्लालाइ पूर्णखोपयुक्त जिल्ला घोषणा गर्नु भएको हो । जिल्ला खोप समन्वय समिति रामेछाप र जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको सो कार्यक्रममा खोपयुक्त जिल्ला बनाउनका लागि उल्लेख्य योगदान गर्नेलाई सम्मान समेत गरिएको थियो ।

    २०७० सालमा मध्यमाञ्चल विकास क्षेत्रको पहिलो पूर्ण खोपयुक्त गाविस ओख्रेनी घोषणा गरेर अभियान थालेको जिल्ला स्वास्थ्यले गत असार महिनामा जिल्लाका साविक ५५ गाविसलाइ पूर्ण खोपयुक्त घोषणा गरिसकेको थियो । जिल्ला स्वास्थ्य प्रमुख डा. प्रकाशप्रसाद शाहले सन् २०१७ भित्र  जिल्लालाइ पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यलाई रामेछापले पूरा गरेको बताउनुभयो । रामेछापका २ नगरपालिका र ६ गाउँपालिकामा जन्मे देखि १ वर्ष उमेर पुगेका ३ हजार २ सय ३४ जना बालबालिकाहरुलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाउनु पर्ने उमेर समूहका कुनै पनि बालबालिकाहरु नछुट्ने अवस्था आएपछि जिल्लालाइ पूर्णखोपयुक्त जिल्ला बनाइएको हो । 

    जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सांसद शान्तिप्रसाद पौडेल, रामेछाप नगरपाकिलाका प्रमुख नरबहादुर थापामगर, मन्थली नगरपालिका प्रमुख रमेशकुमार वस्नेत लगायतले जिल्ला पूर्णखोपयुक्त बनाउनका लागि अथक प्रयास गर्ने सबै पक्षलाइ बधाई दिंदै स्वास्थ्य क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको औंल्याएका थिए । कार्यक्रममा सांस्कृतिक झाँकी, नगर परिक्रमा समेत गरिएको थियो । 

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्