स्याङ्जा महोत्सवमा ३ करोडको कारोबार

- प्रतीक्षा काफ्ले, स्याङ्जा

    फाल्गुन २, २०७४

    माघ २६ गतेबाट स्याङ्जाको श्रवणकुमार खेल मैदान (मालेवगर)मा शुरु भएको प्रदेश स्तरीय पाँचौ स्याङ्जा महोत्सवमा ३ करोड बराबरको कारोबार भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा हालसम्म ४० हजार दर्शक अवलोकन गरेको आयोजकले बताएको हो ।

    “स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन र आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव फागुन ८ गते सम्म संचालन हुने छ । महोत्सवमा स्टेज कार्यक्रम, रतौलि गीत प्रतियोगिता र लोकसंस्कृति झल्कने भेषभुषा लगायत प्रदर्शनी भईरहेको छ । 

    महोत्सवमा सुन्तला, कफी र अदुवा लगायतका नगदेबाली, फोटो प्रदर्शनी, हेलिकप्टर उडान, हस्तकला प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रमहरु लगायतमा दर्शकहरुको भीड लागेको छ । बिदाहरुको दिन बढी भीड लाग्ने गरेको आयोजकले जानकारी दिएको छ । महोत्सव सफल हुँदै गईरहेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजन घिमिरेले जानकारी दिएका छन् । महोत्सवको छैटौं दिन सम्म ३ करोडको कारोबार, ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको घिमिरेले बताए । १२ दिनसम्म संचालन हुने महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, विभिन्न कलाकारको प्रस्तुती र कृषि मेला तथा पशुपन्क्षी प्रदर्शनी र अदुवा लगायतका नगदेबालीहरुको प्रदर्शनी भैरहेको छ । 

    स्याङ्जा महोत्सव स्याङ्जा जिल्लाको पहिचान रहेको हुँदा दर्शकहरुले पाँचौ स्याङ्जा महोत्सव अवलोकन गर्नुपर्ने अवलोकनकर्ता दिपक पोख्रेल ‘दिपानु’ले बताए । सुन्तला प्रदर्शनी, अर्गानीय कफी प्रदर्शनी, अटोमोवाइल, सूचना प्रविधि प्रदर्शनी, पर्यटन मेला तथा फोटो प्रदर्शनी र हस्तकला प्रदर्शनी समेत भैरहेको छ । महोत्सवमा ३ सय स्टल, ८ करोड बराबरको कारोबार र २ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । महोत्सवलाई आकर्षण बनाउन हेलिकप्टरबाट स्याङ्जा जिल्ला भित्र रहेका धार्मिक पर्यटकीय स्थलहरुको अवलोकनको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघले व्यवस्था मिलाए अनुसार आफुले पर्यटकीय स्थलहरुको अवलोकन गरेको अवलोकनकर्ता आषिस लम्सालले बताए । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्