डोल्पाका विद्यालयमा भर्ना अभियान सुरु

- विष्णुलाल बुढा, डोल्पा(दुनै)

    फाल्गुन २, २०७४

    उच्च हिमाली जिल्लामा पर्ने डोल्पाका अधिकांश सामुदायिक विद्यालयहरुमा बुधबारबाट विद्यार्थी भर्ना अभियान सुरु भएको छ । उच्च हिमाली जिल्ला भएकाले फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने मध्य तथा तल्लो डोल्पाका विद्यालयहरुमा बुधबार भर्ना अभियान सुरु गरेर विद्यालय सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय डोल्पाका शाखा अधिकृत सिंहराज डांगीले बताउनुभयो ।

    नयाँ संरचना बमोजिम ८ स्थानीय तह रहेको डोल्पाका ५ वटा स्थानीय तहरु ठुलीभेरी नगरपालिकाका २४ वटा, त्रिपुरासुन्दरी नगरपालिकाका ३२ वटा, जगदुल्ला गाउँपालिकाका १० वटा, मुड्केचुला गाउँपालिकाका १३, काइके गाउँपालिकाका १४ गरी जम्मा ९३ वटा सामुदायिक विद्यालयहरु बुधवारबाट खुलेका हुन् । यी सबै गाउँपालिकाका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु भएकाले चहलपहल सुरु भएको र पठनपाठन फागुन १५ गते भित्र सुरु भैसक्ने छ । बुधवार ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुको बैठक संयुक्त बैठक सम्पन्न भएको पनि जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । 

    जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा आगामी ५ र ६ गते स्थानीय तहका पदाधिकारीहरु र प्रधानाध्यापकहरुको संयुक्त बैठक हुने भएको छ । जिल्लाका अधिकांस  विद्यालयहरु खुलिसकेका छन् । केही विद्यालयहरु भने हिमपातका कारण केही दिन विद्यार्थी भर्नामा समेत समस्या आउन सक्ने आशंका बढाएको छ । जिल्लाका ८ स्थानीय तह मध्ये माथिल्लो डोल्पामा पर्ने ३ वटा स्थानीय तहहरु छार्का ताङसोङ गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा भने आगामी बैशाखबाट नयाँ शैक्षिक सत्रको पठनपाठन हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्ष सहितको उपस्थितिमा प्रधानाध्यापकहरुको संयुक्त बैठक भनिएको भएपनि ११ वटा वडा रहेको ठुलीभेरी नगरपालिकाका प्रमुख उपप्रमुख र ८ वटा वडा अध्यक्ष बैठकमा अनुपस्थित रहेका थिए ।

    संयुक्त बैठक राखिएको खबर समयमा नपाएको र पाए पनि पत्र नभएर मौखिक रुपमा पाएकाले हेला गरिएको जस्तो लागेकाले बैठकमा उपस्थित नभएको ठुलीभेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरिप्रसाद डांगीले बताउनुभयो । ठुलीभेरी नगरपालिकाका २४ सामुदायिक विद्यालयहरु मध्ये १५ वटा विद्यालयबाट प्रधानाध्यापक आफै र ७ वटा विद्यालयबाट निमित्त तथा प्रतिनिधि गरी २२ वटा विद्यालयको उपस्थिति रहेको थियो । यो बैठकमा २ वटा विद्यालयहरु अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । नयाँ शैक्षिक सत्र २०७५ को लागि जिल्लाका सबै विद्यालयहरु बुधबारबाट खुलेका छन् । कम्तिमा २ हप्ता भर्ना अभियान संचालन गर्नु पर्ने र भर्ना अभियानका क्रममा र्‍याली, घरदैलो, भेटघाट, छलफल, अन्तक्र्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गरिने योजना रहेको स्रोत व्यक्ति झलक शर्मा पराजुलीले बताए । 

     

    प्रकाशित:फाल्गुन २, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्